नुवाकोट, ९ माघ । नेपाललाई उत्तरी छिमेकी चीनसँग जोडने एकमात्र स्थल नाका रसुवागढी आउँदो एक महिनासम्म बन्द भएको छ । चिनियाँ नयाँ वर्ष र अन्य चाडपर्वलाई मध्यनजर गर्दै शनिबारदेखि मालवाहक कन्टेनर सञ्चालनमा रोक लगाइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
जनवरी २८ अर्थात माघ १५ देखि चिनियाँ नयाँ वर्ष सुरु हुने र यससँगै ग्याल्पो ल्होसार पर्वसमेत मनाउने भएकाले चिनियाँ पक्षले नेपालबाट यातायातका साधन प्रवेशमा चीनले रोक लगाउन सुरु गरेको छ ।
“चीनतर्फ शुक्रबारदेखि नै मालवाहक कन्टेनरमा सिल लगाउन बन्द गरिएको सूचना पाएका छौ,” भन्सार प्रमुख गोपाल कोइरालाले भने “उताबाट सिल भएका गाडीहरू शनिबार नेपाल भित्रिसकेकाले नेपालबाट पनि चीन प्रवेश गर्ने गाडी निषेध गरिएको छ ।”
नेपालबाट चीन जाने तयारीमा रहेका १ सय ६० कन्टेनर शुक्रबारदेखि नै रसुवाको धुन्चे, कालिकास्थान, वेत्रावती र रसुवागढी भन्सार यार्डमा रोकिएका छन् । रोकिएका कन्टेनर अबको एक महिनासम्म चीन प्रवेश गर्न नपाउने भन्सार कार्यालयले जनाएको छ ।
चीनबाट नेपालमा सामान ढुवानी गर्दै आएको मुसा ट्रान्सपोर्ट कम्पनीले शुक्रबारदेखि ट्रान्सपोर्टको काम बन्द गरिसकेको जानकारी रसुवागढी भन्सार कार्यालयलाई गराएको छ । कारोवारमा खवर छ । यसअघि पनि चीनतर्फको सडक मर्मत जारी रहेकाले दिनमा डेढ घण्टा र रातको समयमा मात्र यातायात सञ्चालन हुदै आएको थियो ।
चीनबाट नेपालमा तयारी पोशाक, फलफूल, विद्युतीय सामाग्री, श्रृंगार तथा पहिरनका सामाग्री आयात हँुदै आएको छ । नेपालबाट मैदा, खुसार्नी, हस्तकला, जडिबुटी, कृषि उपजलगायत निर्यात हुने गरेका छ ।
