पत्रकार तथा गायक देवेन्द्र बस्नेतको गायनमा पहिलो गीती संग्रह ‘कदर’ आउने भएको छ । यो गीती संग्रहको प्रस्तुतकर्ता पाण्डेश्वरी यातायात व्यवसायि समितिका बरिष्ठ उपाध्यक्ष केशव नेपाली रहेका छन् । यसैगरि रोहीत न्यौपाने,सनतकुमार आचार्य,सोम गुरुङ,बिबेकजंग शाही,रामु कुमाल,दामोदर भण्डारी र कृष्ण गिरी यो गिती संग्रहको निर्माता रहेका छन् । शनिवार घोराहीमा एक कार्यक्रम गरेर गायक बस्नेत र प्रस्तोता नेपालीले गिती संग्रह कदरको ब्यानर सार्वजनिक गरेका छन् । उनिहरुले छिट्टै यो गिती संग्रह भिडियो सहित सार्वजनिक गर्ने बताएका छन् । गिती संग्रह कदरको घोषणा गर्दै प्रस्तोता नेपालीले आगामी फागुन सम्ममा यो एल्बम सार्वजनिक गरिसक्ने बताए ।

16196747_10210615309930840_414247364_o

बस्नेतको गायकीले प्रभावित भएर उनकै आवाजमा गिती संग्रहनै बजारमा ल्याउने आँफूले योजना बनाए अनुरुप यो एल्बममा बस्नेतसंग संगै काम गर्न थालेको पनि नेपालीले वताए । ‘देवेन्द्र जिल्लामा रहेर गीतसंगितको लागि धेरै मेहनत गर्दै आएको मान्छे हो,’उनले भने ‘उहाँको स्टेज पर्फमेन्स देखि आवाजबाट प्रभावित भएर मैले यो कदम चालेको हुँ,आशा छ हाम्रो यो संयुक्त प्रयासले ठूलो सफलता मिल्ने छ ।’ यो गिती संग्रहमा रहने गीतको म्युजिक भिडियोमा मोडल दिलु सोनारको अभिनय रहने पनि नेपालीले बताए । यो गीती संग्रहमा ६ वटा गीत रहने पनि उनले जानकारी दिए ।

२०६९ देखि औपचारिक गायन यात्रा थालेका बस्नेतले आधा दर्जन फूटकर गीत गाएका छन् । तर बस्नेतको यो पहिलो गिती संग्रह हुने छ । यसअघि उनले मर्नलाई बाँच्यौ तिमी, आँधी चलेको रातमा,आज फेरी,मर्नै पर्छ मलाई सानु लगाएतका गीतहरु बजारमा ल्याईसकेका छन् ।

कार्यक्रममा बोल्दै गायक बस्नेतले आफ्नो कलाकारीता यात्रामा गिती संग्रह ठूलो खुड्किलो बन्ने बताए । ‘मेरो कलाकारीतालाई थप प्रोत्साहन गर्न एकल गिती एल्बमकै सहयोग मिलेको छ,यो मेरा लागि ठूलो अवसर पनि हो,’उनले भने ‘संगसंगै यो एल्बममा मेरो गायकीलाई कसरी राम्रो बनाउने भन्ने चुनौती पनि थपिएको छ ।’

16216185_10210615309890839_1339644325_n

पत्रकारीतासंगै गायन यात्रालाई पनि निरन्तरता दिने मिशनमा घोषित गिती संग्रह कोशेढुंगा सावित हुने समेत बस्नेतले वताए । सुगम संगित गायक उनले पछिल्लो समय स्टेज गीतहरुलाई बढि प्राथमिकता दिन थालेका छन् । यसैक्रममा उनले तत्कालै चिल बस्यो टुपैमा बोलको पुरानो गीतलाई रिमेक गरेर बजारमा ल्याउने तयारी थालेका छन् । यो गीत बस्नेतका बाबुु स्वर्गिय कृष्ण बस्नेतले गाएका हुन् । स्वर्गिय बाबुको स्मृति स्वरुप यो गीतलाई आँफूले रिमेक गरेर बजारमा ल्याउने तयारी गरेको उनले वताए । यो गीतका लागि उनि केहिदिनमै काठमाडौँ जाँदैछन् । बस्नेत नागरिक दैनिकका दाङ संवाददाता हुन् भने रेडियो स्वर्गद्धारीका समाचारदाता हुन् ।

शनिवार आयोजित एल्बम घोषणा कार्यक्रम एल्बमका निर्माता रोहीत न्यौपानेको अध्यक्षता तथा केशव नेपालीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा अध्यक्ष न्यौपानेले गायक बस्नेत तथा उनको आगामी एल्बमको सफलताको कामना गरेका थिए । अर्का निर्माता रामु कुमालले पनि बस्नेतको कलाकारीता यात्रा उचाईमा पुगोस् भन्दै कामना गरेका थिए । कार्यक्रममा पत्रकार जेएन सागर, मोडल सुदन थापा लगाएतले शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण बिष्णु देवकोटाले गरेका थिए ।