गोपाल शर्मा भट्टराई, दाङ, ८ पुस । लामो समयदेखि निर्माण रोकिएको दोघरे–बालापुर सडक कालोपत्रेका लागि पुनः टेन्डर गरिएको छ । सडक डिभिजन कार्यालय दाङले सडक कालोपत्रे गर्नका लागि जिम्मा पाएको नेपाल प्रगति बोखिम एण्ड सन जेभी विशालनगरलाई कालोसूचीमा राखेर सम्झौता खारेज गरी नयाँ टेण्डर गरेको जनाएको छ ।
२०७० सालदेखि निर्माण सुरु भएको सडक एक वर्षभित्र सम्पन्न गरि सक्नुपर्ने थियो । तत्कालिन निर्माण कन्पनीले ७ करोडमा सडक कालोपत्रेको सम्झौता गरेको थियो । तीन वर्षसम्ममा पनि सडक कालोपत्रे नभएपछि कार्यालयले नयाँ निर्माण कम्पनीको आह्वान गरेको हो । नयाँ कम्पनीले जेठसम्ममा एक लेयरसम्म सडक कालोपत्रे गर्ने गरि कार्य तालिका पाउने छ । त्यसका लागि आठ करोड रुपैयाँको स्टिमेट स्विकृत भइसकेको सडक विभागका क्षेत्रीय निर्देशक मुक्ति गौतमले जानकारी दिए ।
जति सक्यो छिटो निमार्णका लागि रि–टेन्डर भएको छ उनले भने पहिलो प्राथामिकतामा रहेर यो सडकको अब काम हुन्छ । पुरानो निर्माण कम्पनीसंगको सम्झौता तोडिसकेको भन्दै उनले अबको दुई महिनाभित्रमा टेन्डरको काम पुरा भई निर्माणको काम सुरु हुने बताए । उनले निर्माणका लागि स्थानीयले दवाव दिनु सकारात्मक काम भएको बताए । सडक कार्यालयले निर्माणको लागि रिटेन्डर भएसंगै पुरानो निर्माण कम्पनीसंग क्षतिपूर्ति बापत १ करोड ८६ लाख रुपैयाँ समेत माग गरेको छ ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख शिर बहादुर घिमिरेले निर्माणमा बेवास्ता हुदा पुरानोसँग सम्झौता तोडेर नयाँ टेन्डर गरिएको बताए । उनले यस पटकको टेन्डर ई–टेन्डर गरिएको बताए । टेन्डर पाउने कम्पनीलाई निर्माणको कार्य तालिका बनाएर जिम्मा दिने तयारी गरिएको पनि उनले जानकारी दिए । अब स्थानीयले आन्दोलन गर्नु पर्दैन प्रमुख घिमिरेले भने केहि समय लाग्ला यस वर्ष भित्रै सडकको कालोपत्रे निर्माण सम्पन्न हुन्छ ।
प्रमुख घिमिरेले ठेक्का नहुँदासम्ममा सडक मर्मतको काम सुरु गएको समेत बताए । उनले अहिले दुईवटा आधारहरु बनाएर ठेक्का दिने तयारी भएको बताए । प्राविधिक र आर्थिक अवस्था हेरेर मात्रै ठेक्का सम्झौता हुन्छ पहिलेको जस्तो कम मात्रैले ठेक्का पाउँदैन । सांसद डिल्लीबहादुर चौधरीले आफूले उक्त सडकको निर्माणको लागि पटक पटक चासो राख्दै आएको भन्दै अब निर्माण हुने विश्वास व्यक्त गरे । उनले जनस्तरको विकासलाई तीव्रता दिन निर्देशन समेत दिए । आन्दोलन संघर्ष समितिका संयोजक दशरथ ओलीले कार्यालयले पटक पटक निर्माणको आश्वासन दिए पनि पुरा नभएको भन्दै विश्वास दिलाउन आग्रह गरे ।
उनले एक वर्षदेखि स्थानीयहरुले दवावका कार्यक्रम सिर्जना गरिरहेको भन्दै नयाँ टेन्डर हुनु सकारात्मक भएको बताए । पटक पटक दवाव दिदा समेत सडक कालोपत्रे नभए पछि संघर्षमा उत्रिएको उनको भनाई छ । जस अन्तर्गत शुक्रबार उक्त सडक खण्ड केही घण्टा चक्काजाम समेत गरिएको थियो । यसैबीच तुलसीपुर(सुर्खेत सडक खण्डको दोघरे(बालापुर सडक खण्ड निमार्णको माग गर्दै आएका स्थानीय संघर्ष समिति र सडक डिभिजन कार्यालय तथा जिल्लाका सांसद बीच छलफल भएको छ ।
संवाद समूह क्षेत्रीय सचिवालयको आयोजनामा संवाद भएको हो । सडक कालोपत्रेका लागि नयाँ प्रक्रिया सुरु भएको भन्दै संघर्ष समितिले कार्यक्रमहरु परिमार्जन गर्ने प्रतिबद्धता जनाएको थियो । आन्दोलनरत पक्ष सार्वजनिक गरेको आन्दोलका कार्यक्रम हेरफर गर्ने तथा सडक डिभिजन कार्यालयले सडक निर्माणको लागि रिटेन्डर गर्ने भएपछि आन्दोलनका कार्यक्रम परिमार्जन भएका हुन । सांसद डिल्लीबहादुर चौधरी, सडक विभागका क्षेत्रीय निर्देशक मुक्ति गौतमसहित डिभिजन प्रमुख शिरबहादुर घिमिरे, संघर्ष समितिका दशरथ वली र किरण केसीबीच भएको सम्वादले यस्तो निर्णय गरेको हो ।
कार्यालयका प्रमुख घिमिरेले जेठ महिनामा सडकले कालोपत्रे वान लेयर गर्ने प्रतिबद्धता जनाएका थिए । पटक पटक आन्दोलन हुँदा पनि निकास नलिए पछि संवाद समूहले निकासका लागि पहल गर्न सांसद डिल्लीबहादुर चौधरीको रोहवरमा छलफल गराइएको सहजकर्ता सुशील बस्नेतले जानकारी दिए । चार घण्टालाई घोषणा गरिएको चक्का जाम संवादपछि एक घण्टा मात्रै गरिएको थियो । राप्ती समाचार
