विराटनगर, ८ माघ । विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएका छन् । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति गर्नका लागि सो परिमाणका काठ तेस्रो मुलुकबाट भित्रिएको हो ।

timthumbयस क्षेत्रका जङ्गलमा उत्पादित काठमध्ये विशेषगरी सखुवा जातको काठको माग अत्यधिक रहेको छ । मागअनुरूप आपूर्ति हुन सक्ने सम्भावना नदेखिएपछि तेस्रो मुलुकबाट काठको आयात हुन थालेको हो ।

जिल्ला वन कार्यालय मोरङकाअनुसार, आव ०७०र७१ मा पाँच हजार ८ सय ५३ क्युविक घनमिटर, ०७१र७२ मा तीन हजार ६ सय ४८ क्युविक घनमिटर, ०७२र७३मा एक हजार ८ सय ५५ क्युविक घनमिटर र चालू आर्थिक वर्षको प्रथम ६ महीनामा तीन हजार ९६ क्युविक घनमिटर गरी कुल १४ हजार ४ सय ५२ क्युविक घनमिटर काठ यो नाका भएर नेपाल भित्रिएका छन् ।

सबैभन्दा बढी काठ इण्डोनेशिया र बर्माबाट भित्रिएका छन् । भित्रिएका काठमा बङ्कीराई र कपुर जातका बढी छन् । यी जातका काठ साल जातकै काठ जतिको बलियो भनेर भित्र्याइएको हो ।

भित्रिएका यी काठ भवनको झ्याल र चौखटमा बढी प्रयोग हुने गर्दछ । भित्र्याइएका यी गोलिया काठ व्यापारीले सोझै बिक्री गर्ने वा झ्याल, ढोकालगायतका सामग्री निर्माण गरी थोक बिक्रेतालाई उपलब्ध गराउने गर्छन् । थोक बिक्रेताले पसललाई उपलब्ध गराएपछि सर्वसाधारण ग्राहकले खरीद गर्ने गर्छन् ।

काठको बढ्दो मागलाई ध्यानमा राखेर जिल्ला वन कार्यालयले वैकल्पिक वन व्यवस्थापन कार्यक्रम र साझेदारी वन कार्यक्रममा जोड दिइएको जिल्ला वन कार्यालयका प्रमुख विनोद देवकोटाले बताए ।

यस कार्यक्रम अन्तरगत जङ्गलभित्रका सुकेका, ढलेका काठलाई सङ्कलन गर्नुका साथै पूर्णरूपले तयार भएका रुखलाई कटान गरी आन्तरिक बजारमा उपलब्ध गराउन सकिने उनले जानकारी गराए । रासस