इन्द्रेणी संवाददाता
दाङ, १४ जेठ
देउखुरी राप्तीपारिको गढवामा स्थानीय समुदायको सक्रियतामा पुस्तकालय सञ्चालनमा आएपछि पढ्ने वानीको विकास भएको छ ।पुस्तकालय खुलेपछि साक्षरहरूका साथै अक्षर चिन्नै नसक्नेहरूले समेत फाइदा लिन थालेका छन् ।
दुर्गम गाउँमा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनमा आएपछि त्यहाका स्थानीयहरु खुशी भएका छन ।
विविध विषयका पुस्तक पढ्न पाउनुका साथै पुस्तकालयमा श्रव्य–दृश्य सामग्रीको पनि व्यवस्था भएकाले निरक्षरहरूले समेत सुनेर, हेरेर धेरै कुरा सिक्न पाएका छन् । साथै कम्प्युटर सिक्ने र वृत्तचित्र हेर्नेहरू पनि पुस्तकालयमा पुग्ने गरेका छन ।
गढवा क्याम्पसले निःशुल्क उपलब्ध गराएको जग्गामा भवन बनाएर आधुनिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो । पुस्तकालयमा निःशुल्करूपमा कम्युटर सिक्नेदेखि इमेल–इन्टरनेट चलाउने सुविधा छ । यसका साथै किसानका लागि समुदायमै गएर प्राविधिक सल्लाह दिने सामाजिक परिचालकहरुको समेत व्यवस्था गरिएको छ ।
पुस्तकालय स्थापनका लागी रिड नेपालले १ करोड ४० लाख रुपैयाँ उपलब्ध गराएको थियो । जिविस दाङ, गढवा गाविस, स्थानीय सामुदायिक वन र स्थानीय समुदायले पनि पुस्तकालयका लागि ५० लाख रुपैयाँभन्दा बढीको सहयोग गरेका छन् ।।
