काठमाडौं । प्रेस काउन्सिल नेपालको पहलमा गठन हुन लागेको “दक्षिण एशियाली एलाएन्स फर प्रेस काउन्सिल” प्रक्रियालाई मूर्तरुप दिने अन्तिम तयारी बैठकको लागि नेपाल भ्रमणमा रहेको वंगलादेश, भारत र साईप्रस प्रेस काउन्सिलका पदाधिकारीहरुको टोलीले आज मिति २०७३ पुस २८ गते सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री तथा सार्क सचिवालयमा पुगी शिष्टाचार भेटघाट तथा छलफल कार्यक्रम गरेको छ ।
शिष्टाचार भेटघाटको क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली मिडियाले लोकतन्त्रको भरपुर उपयोग गरेको वताउनुहुँदै दक्षिण एशियाली देशहरुमा सामाजिक—साँस्कृतिक लगायतका सवै पक्षहरु समानता रहेकोले एलाइन्स गठनले नयाँ उँचाई लिने धारणा राख्नुभयो । भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजनीतिक परिवर्तनबाट मिडियाले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको धारणा राख्नुभयो ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले सार्कस्तरीय प्रेस काउन्सिल गठन गर्नुको उद्येश्य प्रष्टयाउँदै सार्कराष्ट्रका सरकार र मिडियावीचको सम्वन्धलाई जनस्तरमा पु¥याउने धारणा व्यक्त गर्नुभएको थियो ।
विश्व प्रेस काउन्सिलका कोषाध्यक्ष अलि हेन्सर ली, प्रेस काउन्सिल अफ बंगलादेशका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश मो। ममताजुद्धिन अहमद, भारतीय प्रेस काउन्सिलका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश चन्द्रमौलीकुमार प्रसादले सार्क प्रेस काउन्सिलको आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।
दक्षिण एशियाली सहयोग संगठन ९क्ब्ब्च्ऋ० गठन भएको तीन दशक बितिसक्दा पनि यस क्षेत्रका मिडिया सम्वन्धित नीतिनिर्माता संस्थाहरुबीच सहकार्य हुन सकेको अवस्थामा अन्तर्राष्ट्रिय जगतमा समेत दक्षिण एशियाली साझा आवाज उठाउन बल पुग्ने अभिप्रायसहित काउन्सिलको पहलमा सार्क एलाईन्स गठन हुन लागेको हो ।
आजै दिउँसो सञ्चारग्राममा आयोजित अन्तरक्रियामा भ्रमणदलको टोलीलाई अध्यक्ष कार्कीले मायाको चिनो नेपाली हस्तकलाका सामग्री गैंडा, बुद्ध मूर्ति, गलैंचाकार्पेट प्रदान गर्नुको साथै भादगाउँले टोपी र खादा ओढाई स्वागत गर्नुभएको थियो । भ्रमणटोली नेपाली सेनाको हेलिकप्टरबाट भोली चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरी पोखरा जाने कार्यक्रम रहेको छ ।
