दिपक बोहरा, तुलसीपुर २७ पुस । राप्ती अञ्चल अस्पताल तुलसीपुरले अनुमति दिएमा २४ घण्टामै ब्लड बैंक सञ्चालनमा ल्याउने रेडक्रसका पदाधिकारीले दाबी गरेका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायणप्रसाद शर्माले अञ्चल अस्पताले स्वीकृति दिएको २४ घण्टाभित्रै ब्लड बैंक सञ्चालनमा ल्याउने दाबी गरेका हुन् ।
सभापति शर्माले अहिले अञ्चल अस्पताल परिसरमा निर्माण भएको भवन भाडामा दिएपनि रेडक्रसले ब्लड बैंक सञ्चालनमा ल्याउन सक्ने राप्ती समाचारलाई बताए । उनले भने ‘अहिले ब्लड बैंकका लागि निर्माण भएको घर भाडामा दिने हो भने हामी ब्लड बंकै तत्काल सञ्चालमा ल्याउन सक्छांै ।’
यसअघि पुनरावेदन अदालत तुलसीपुरले पनि अञ्चल अस्पतालको स्वामित्वमा रहेको जग्गा ब्लड बैंक सञ्चालनका लागि रेडक्रसलाई उपलब्ध गराउने तथा सोही जग्गामा रेडक्रसले भवन निर्माण गरी ब्लड बैंक सञ्चालनमा ल्याउन आदेश दिएको सभापति शर्माले बताए । तर अञ्चल अस्पतालले अदालतको आदेशलाई पालना नगरी आफै सञ्चालनमा ल्याउन खोज्दा प्रक्रिया ढिला भएको उनको दाबी थियो ।
‘अस्पतालले अदालतको फैसला लत्याउन खोज्यो’ उनले भने ‘हामीलाई जिम्मा दिएको भए पहिले नै ब्लड बैंक सञ्चालनमा ल्याइसक्ने थियौ ।’ त्यस्तै अस्पतालले ब्लड बैंक सञ्चालनमा ल्याएपनि प्रभाबकारी सेवा दिन नसक्ने जिकिर गरे । ‘स्वास्थ्य बिभागले स्वीकृति दिँदैमा र कर्मचारी पठाउँदैमा ब्लड बैंक प्रभाबकारी हुन्छ भन्ने छैन’ उनले अगाडि भने ‘त्यसमा बिभिन्न प्राबिधिक कुराहरुको ज्ञान तथा स्रोत साधन प्रयाप्त हुनुपर्छ ।’
रेडक्रसले २०२३ सालदेखि देशका बिभिन्न ६० जिल्लाबाट सेवा प्रदान गरिरहेकाले स्रोत साधन तथा ब्लड बैंकसम्बन्धी अनुभव भएको बताए । जसले गर्दा आफूले बिरामीलाई सहज तरिकाले सेवा दिन सक्ने उनको भनाई थियो । ‘रेडक्रसले लामो समयदेखि ब्लड बैंक सञ्चालन गर्दै आएको छ’ उनले भने ‘जसले गर्दा ब्लड बैंक सञ्चालन गर्ने सबै प्रक्रियाको बारेमा जानकारी छ ।’
अस्पताल रेडक्रससँग छलफल गर्न तयार छ
लामिछाने राप्ती अञ्चल अस्पताल बिकास समितिका सदस्य नबराज लामिछानेले यस बिषयमा रेडक्रससंग छलफल गर्न सकिने बताएका छन् । उनले राप्ती समाचारलाई भने ‘ब्लड बैंक सञ्चालन ल्याउने बिषयमा अञ्चल अस्पताल र रेडक्रसबीच अवश्य छलफल गर्नेछौं ।’ दाताले जुन अपेक्षा लिएर भवन निर्माण गरे त्यही अनुरुप अस्पतालले काम गर्नुपर्ने भन्दै उनले जति सक्यो छिटो ब्लड बैंक सञ्चालनमा ल्याउन पहल थाल्ने बताए ।
दाताको सम्मानका लागि पनि ब्लड बैंक सञ्चालनको प्रक्रियालाई छिटो टुंग्याउनु पर्ने उनको भनाई छ । भवन निर्माण भएको एब बर्ष बित्नै लाग्दा पनि ब्लड बैंक सञ्चालनमा ल्याउन नसक्नु अस्पताल बिकास समितिको कमजोरी भएको पनि उनले स्वीकारे । उनले भने ‘अस्पतालले समयमै ब्लड बैंक सञ्चालनमा ल्याउन नसक्नु कम्जोरी हो, अब दाताको सम्मानका लागि भएपनि छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्छ ।’
समयमा ब्लड बैंक सञ्चालनमा नआउदा बिरामीहरुलाई रेडक्रस घोराहीबाट रगत ल्याउनु पर्ने तथा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहँदै आएको उनले जानकारी दिए । राप्ती समाचार
