tamatar-kheti

मनु राज शर्मा, बखरिया २७ पुस ।   दाङको फूलवारी ६ बखरीया निवासी ४६ बर्षीय नवराज रावत तरकारी खेतिवाट मासिक हजारौं आम्दानीगर्दै आएका छन् । रावतले २०५९ सालदेखि तरकारी खेति गर्दा १० कठ्ठा जमिन वाट सुरु गरेका थिए । हाल उनले आफ्नो डेढ विगाह जमिनमा पुरै तरकारी खेति गर्दै आएका छन् ।

तरकारी खेतिवाट मनग्य आमदानी हुन थालेपछि रावतले विगत ६ / ७ बर्ष यता खाद्यान्नबालि  लगाउने ठाँउमा तरकारी खेति मात्रै गर्दै आएका छन् । उनले आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न किनेर खाने गर्छन तर अन्नबालि लगाउँदैनन् । त्यसको कारण सोध्न खोज्दा उनले तरकारी खेतिवाट खाद्यान्न बालिभन्दा चार गुनाबढी फाईदा हुने गरेकोले आफुले तरकारी खेति रोजेको बताए ।

२०५९ सालदेखि तरकारी खेति सुरु गरेका रावतले फाईदा मनग्य देखेपछि २०६४ सालदेखि क्षेत्रफल बढाएर आधा विगाहा क्षेत्रफलमा खेति सुरु गरेका थिए । जिल्ला कृषि विकास कार्यालय र जिल्ला विकास समितिले २०५९ सालमा क्षेत्रीय तालिम केन्द्र खुजुरामा ४५ दिने ग्रामिण कृषि कार्यकर्ता तालिम लिएपछि आधुनिक तरकारी खेति सुरु गरेको बताउँछन् ।

हाल उनले तरकारी खेतिमा ३७ लाख बढी लगानी गरिसकेको बताए । ३२ मिटर लम्वाई र ८ मिटर चौडाईका १० वटा आधुनिक टनेलमा टमाटर खेति गरिहेका छन् । थोपा सिंचाईको प्रवन्ध गरेका रावतले फलामवाट निर्मित स्थायी संरचनाको पलास्टिक टनेल नेट निर्माण गरेका छन् ।

 लगनसिल र मेहनती रावतले हाल दैनिक कम्तिमा पनि २ सय ५० किलो टमाटार बेच्दै आएका छन् । तुलसीपुर बाट व्यापारीहरु रावतको खेतवारीमै गाडि लगेर टमाटर ल्याउन आफै पुग्छन् । दशैंको समयमा ५०० किलो टमाटर प्रति किलो ३५ रुँपैयाको दरमा बेचेको भएपनि त्यसपछि भने टमाटरको बजार  भाउ घटेकोले ३०० किलो टमाटर भने १२ रुँपैया प्रति किलोमा व्यापारीहरुलाई बेच्ने गरेको बताए । बखरीया बाट व्यापारीहरुले १२ रुँपैंया प्रति किलो टमारटर खरिद गरेर ल्याउने भएपनि बजारमा भने मुल्य त्यसको दोब्बर बढी हुन पुग्छ । ‘यहाँ कामगर्ने कालु मकै खाने भालु भने जस्तै छ ।’

रावतले थपे ‘ विचौलियाका कारण हामी जस्ता रातदिन महेनतगर्ने किसान ठूलो मर्कामा परेका छौं ।’ उनले तुलसीपुर बजारमा घोराहीमा जस्तो दैनिक तरकारीको मुल्य सूचना बोर्डमा नटास्नुले पनि ठगी बढेको बताए ।‘बजार मुल्य सोध्दा तरकारी ल्याउनुहोस अनि मिलाएर गरौंला भन्छन् तर, तरकारी मण्डिमा पुगाएपछि प्रचलित भाउ भन्दा कम मुल्य मात्रै दिन्छन् ।’ रावतले गुनासो पोखे,‘ थोरै भएपनि डुलाउँदै फुटकर बेचौं भन्ने हो हामीसंग ठूलो परिमानमा तरकारी उत्पादन भएको हुन्छ र त्यो एकै पटक बेच्नुपर्ने बाध्यता हुँदा विचौलियाले फाईदा लिने गरेका छन् ।’

आफुले हाल सात हजार टमाटरको बोट लगाएको र प्रतिबोट बाट १० किलो सम्म उत्पादन गर्ने लक्ष्य लिएको रावतले आषा व्यक्त गरे । उनले अत्याधुनिक प्रविधिवाट टनेल निर्माण गरेकोले आफुले एउटा बोटवाट नौं महिना उत्पादन लिने बताए ।‘मैले थोपा सिंचाई प्रविधिवाट सिंचाई प्रवन्ध गरेको छु र प्रत्येक वोटमा ( सात हजार) आधा घन्टामै एकै साथ सिंचाई पुग्छ ।’ उनले जमिन मुनि पाइप गाडेर प्रत्येक बोटमा सिंचाईको प्रबन्ध गरेका छन् । असार साउनमा लगाएको टमाटरवाट आजसम्म निरन्तर उत्पादन भइरहेको बताएका उनले आगामी फागुन वा चैत देखि त्यसमा लहरे तरकारी बालिको खेति गर्ने आफ्नो योजना सुनाएका थिए ।

तरकारी रोप्दा वा गोडमेल गर्दा उनले एक दर्जन जति मान्छेहरुलाई दैनकि जसो रोजगारी दिने गरेको भएपनि उनको खेतिमा दैनिक चारजना स्थानीयहरुलाई रोजगारी समेत दिँदै आएका छन् । टमाटरको खेति गर्ने किसानले बालि तयार नहुँदा सम्म फाईदा पाउँदैनन् र टमाटर लगभग एकैपटक तयार हुने बालि हो । त्यसैले उनीहरुले तयार बालि एकै पटकमा बेच्नुपर्ने बाध्यता हुन्छ ।

त्यस्तो अवस्थामा मासिक कति बचत हुन्छ भन्ने प्रश्नमा उनले भनेका थिए‘राम्रो रेट गएको समयमा मासिक ५० देखि ६० हजार सम्म वचत हुन्छ ।’ रावतका साँईला छोरा घोराहीमा एजी पढिरहेका छन् भने कान्छा छोरा काठमान्डौंमा व्याचलरमा अध्यनरत छन् । त्यस्तै जेठा छोराले १२ कक्षा उत्तिर्ण गरेपनि घरमा बाबुलाई सघाउँदै आएका छन् । उनले सबै छोराहरुलाई पढाउने खर्च यही तरकारी खेतिवाटै जुटाउने गरेका छन् ।

‘हालसम्मको मेरो अनुभवले तरकारी खेतिवाट सलक्कै घाटा खाएको अवस्था छैन र मेहनत गर्ने जो कोहीले बार्षिक ६ लाख सम्म मज्जाले बचत गर्न सक्छ ।’ अन्त्यमा उनले थपे ‘ मेरो एउटा छोरा विदेशमा काम गरिरहेको छ , उ साथि भाइको लहलहैमा लागेर विदेश गएको हो । तर, ऋणसाहु गरेर विदेश जानु भन्दा त्यो लगानी यही गनुर्् राम्रो हो अनि विदेशमा गर्ने मेहनत यही गर्दा त्यो भन्दा बढी कमाई यतै गर्न सकिन्छ ।’ राप्ती समाचार