kriti-bahadur-khadka

घोराही  २६ पुस ।  नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले सर्वसाधारण नागरिकलाई लोकतन्त्र बुझाउनका लागि नेविसंघ गाँउ गाँउमा जान जरुरी रहेको बताएका छन् ।

‘जहाँ विद्यार्थी त्यहां नेविसंघ’ भन्ने मुल नाराका साथ केन्द्रद्धारा सञ्चालित सदस्यता वितरण तथा विद्यार्थी जागरण अभियानलाई मंगलवार घोराही स्थित पार्टी कार्यालयमा सम्वोधनगर्दै सभापति खड्काले त्यस्तो बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि खड्काले गाँउ–गाँउमा पुगेर विद्यार्थी तथा सर्वसाधारण नागरिकलाई लोकतन्त्रका साथै अहिलेको राजनीतिको वास्तविकता वुझाउन नेविसंघ लाग्नुपर्ने बताएका थिए । बलको भन्दा विचारको राजनीति गर्न आग्रह गरेका उनले  नेपाल विद्यार्थी संघ बैचारिक रुपमा बलियो भएमा मात्रै कांग्रेस र लोतन्त्रको भविस्य सुनिश्चित हुने बताए ।

उनले छलकपट र बलको भन्दा बैचारिक राजनीतिगर्न आग्रह गरेका छन् । जिल्ला सभापति खड्काले आपसी छलफलबाट एकतावद्ध भएर विद्यार्थी तथा पार्टी हितको काममा खटिन सल्लाह पनि दिएका छन् । सशक्त भएर आफ्ना कृयाकलाप अघि वढाउन नेविसंघलाई निर्देशन दिएका उनले  कतिपय व्यक्तिहरुले पार्टीको नीति नियम विपरित जाने खोजेको भन्दै  पार्टीको नीति विपरित अघि वढ्ने जो सुकैलाई पनि कारवाही हुने चेतावनी दिएका थिए ।

स्ववियू निर्वाचनको तयारीमा लाग्नुहोस ः उपाध्यष यादव
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेविसंघका केन्द्रीय उपाध्यक्ष पवन यादवले तोकिएकै मितिमा स्ववियु निर्वाचन गराउनका लागि नेविसंघले दबाब सृजनागर्नु पर्ने बताएका छन् ।

नेविसंघले स्ववियुमा उमेर हदवन्दी नलगाई वास्तविक सवै विद्यार्थीहरुले प्रतिस्पर्धा गर्न पाउनुपर्छ भन्ने पक्षमा भएतापनि स्ववियु निर्वाचन हुने सर्तमा उमेर हदवन्दी मान्न तयार भएको यादवले स्पष्ट पारेका हुन । उपाध्यक्ष यादवले स्ववियु निर्वाचनको तयारी स्वरुप नेविसंघले थालेको जनजागरण अभियानलाई प्रभावकारी वनाउन मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।

त्रिविले माथिवाट समेस्टर प्रणालि लागु गरेका कारण प्रभावकारी हुन नसकेको भन्दै सेमेस्टर प्रणालीलाई तलवाट माथि लैजानुपर्ने धारणा व्यक्त गरेका थिए ।  एक अर्को प्रशंगमा यादवले अहिले राजनीतिमा झुटको खेति गर्ने परिपाटी वढिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत वास्तविकता वाहिर ल्याउन नेविसंघमा आवद्ध विद्यार्थीले भुमिका खेल्न सक्नुपर्ने विचार राखेका थिए ।

कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य कुलराज खनालले डिजिटल प्रविधिबाट नेविसंघका कृयाकलाप राख्न केन्द्रले योजना वनाएको भन्दै नेविसंघका कृयाकलापलाई शशक्त पार्दै लैजानुपर्ने बताएका थिए ।  अर्का केन्द्रीय सदस्य पवन नेपालीले तत्काल जिल्लाका सवै क्याम्पस तथा उमाविहरुमा पुगेर संगठन विस्तार अभियानलाई तीव्रताका साथ अघि वढाउन आग्रह गरेका थिए ।

यस्तै केन्द्रीय सदस्य अर्चना रेग्मीले एकतावद्ध भएर स्ववियु निर्वाचनमा विजय हासिल गर्नतर्फ अघि वढ्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण नेविसंघ दाङका सचिव ऋषिश्वर न्यौपानेले गरेका थिए ।