काठमाडौं, २६ पुस । आज वसेको  व्यवस्थापिका–संसद्को बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । यस अघि बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

11112016075246nepal-parliamentबैठकमा सांसदहरुले विधेयककाबारेमा उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बैकिङ क्षेत्रमा देखिएको विसङगतिलाई सुधार गर्दै बैंकप्रति जनताको विश्वास बढाउने र बैंकिङ कारोबारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने विधेयकको उद्देश्य रहेको बताए ।

उनले भने, ‘विधेयक पारित भएपछि मुलुकको अर्थतन्त्रमा सुधार आउने छ । बैंकिङ कारोबारमा देखिएको जोखिम नियन्त्रणमा योगदान पुग्ने छ । यसबाट बैंकिङ क्षेत्रको विकासमा ‘ब्रेक थ्रु’ हुनेछ ।’

विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाललगायतको व्यवस्थालाई सुनिश्चित गरिएको छ । यसअघि उक्त विधेयकमाथि सांसद प्रेम सुवाल, डा। सुबोध पोखरेल र चूडामणि विक जङ्गलीले अर्थमन्त्रीसँग स्पष्टीकरण माग गरेका थिए ।

बैठकमा वाणिज्य मन्त्री रोमी गौचन थकालीले व्यापार सहजीकरण सम्झौता सदनसमक्ष पेस गरे । व्यवस्थापिका संसद्को अर्को बैठक यही पुस २९ गते शुक्रबार १ बजे बस्ने छ ।