prakash-sahi

तुलसीपुर २५ पुस ।  सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेलाई एक महिना कैद फैसला सुनाएको छ । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको सोमबारको संयुक्त इजलासले लोकमानलाई कालोमासो दल्नेलाई १/ १ महिना कैद फैसला सुनाएको हो ।

सर्वोच्च अदालतमा म्याद तामेली गर्न गएका लोकमानलाई अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रप्रकाश बुढाले पुस ८ गते कालोमोसो दलेका थिए । फैसलामा भनिएको छ, ‘अवहेलनाको विषय अदालतको निर्वाध न्याय प्रशासनसग जोडिएको विषय हो, ‘निर्वाध न्याय सम्पादनको निम्ति न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र मुद्दाका पक्षहरुको सुरक्षा अध्यावश्यक पूर्वसर्तको रुपमा रहन्छ ।’

न्याय निरुपणको काममा संलग्न वा सरोकार रहने पक्षउपर गरिने कुनै पनि प्रकारको शारीरिक आक्रमण वा बेइज्जतीपूर्ण कार्यलाई अदालतले न्याय सम्पादनमा गरिने हस्तक्षेपको रुपमा बुझ्ने जारी फैसलामा भनिएको छ ।

लोकमानले ती दुबैलाई छोडिदिन आग्रह गरेपनि अदालतले दण्डित गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुबैजनालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि प्रहरीले कारवाही अगाडि बढाउदै मुद्दा दायर गरेको थियो । शाही दाङका हुन् ।