बाँके, २५ पुस । युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष वुढाथोकीमाथि खुकुरी प्रहार गरेको आरोपमा तरुण दलका क्षेत्रीय सभापतिलाई प्रहरीले पक्राउ गरेपछि बन्दमा उत्रिएका तरुण दलका कार्याकर्ताहरुले आज बाँकेमा स्कुल भ्यानमाथि तोडफोड गरेका छन् ।
बन्दका बेला स्कुल बसलाई अवरोध नगर्ने प्रतिबद्धता विपरीत तरुण दल आज बिहान वाटरपार्क स्कुलको भ्यान तोडफोड गरेका हुन् ।
बन्दकर्ताहरुले जिल्लाका विभिन्न ठाउँमा रिक्सा, मोटरसाइकललगायतका सवारीका साधनमा तोडफोड गरेका छन् ।
नेपालगञ्जको बिपी चोकदेखि बन्द गराउँदै हिँडेका तरुण दलका कार्यकर्ताले विद्यार्थी सवार स्कुल भ्यान, पार्किङ्गको मोटरसाइकल, विद्युतीय रिक्सा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।
नेपालगन्जको नेपाल वायु सेवा निगम अगाडि पसल बन्द गरी पार्किङ्गमा राखेको मोटरसाइकल तोडफोड गर्नुका साथै व्यवसायीमाथि आक्रमण समेत गरिएको छ । बन्दकर्ताको आक्रमणबाट एक जना व्यवसायीको आँखामा गम्भीर चोट समेत लागेको प्रहरीले जनाएको छ ।
