घोराही २५ पुस । भरतपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकोे उत्पन्न विवाद समाधानका लागि आज सरोकारवाला पक्षका बीचमा छलफल हुँदैछ । संस्थामा शनिवार मतदान भएपनि मतदाताको संख्या भन्दा बढी मत खसेको पाइएपछि विवाद भएको थियो ।
उत्पन्न विवादका कारण मतगणना स्थगन गरिएको थियो । भरतपुर खानेपानी संस्थामा कुल उपभोक्ता ८ सय ९७ मध्ये ७ सय ५७ मतदाता थिए । ति मध्ये अध्यक्ष, उपाध्यक्ष र सचिवमा ७ सय ७८ मत खसेकोले विवाद उत्पन्न भएपछि निर्वाचन अधिकृत घनश्याम थापाले मतगणना स्थगित हुन पुगेको जानकारी दिएका हुन । मत गणना सुरु भएपनि विवाद उत्पन्न भएपछि बीचमै मतगणना स्थगित गरिएको थियो ।
निर्वाचन क्रममा देखिएको समस्या समाधानका लागि स्थानीय राजनीतिक दलहरुका बीचमा आज छलफल हुने र समस्या समाधान गरिने निर्वाचन अधिकृत थापाले जानकारी दिए । छलफल वाट निस्किएको निर्णय सहित निर्वाचन समितिले अन्तिम टुङगो लगाउने उनले बताए ।
त्यसै गरी महिला सदसय तर्फ कुल मतदाता ७ सय ५७ मध्ये ७ सय ७० मत खेसको थियो । अध्यक्ष,उपाध्यक्ष र सचिवमा २१ र महिला सदस्य तर्फ १९ मत वढी फेला परेको थियो । मत गणनाका क्रममा कुल मतदान मध्ये वढी मत खसेको फेला परेपछि मत गणना कार्य रोकिएको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
शनिवार भएको निर्वाचनमा अध्यक्ष पदमा शंकर गौतम र बीर क्षेत्री ,उपाध्यक्षमा रामचन्द्र पाण्डे र पाण्डव शर्मा र सचिवमा योगेन्द्रवहादुर राणा र ओम प्रकाश न्यौपाने प्रतिपर्धी थिए । त्यसैगरी महिला सदस्य तर्फ गोदावरी श्रेष्ठ , मुना पोख्रेल , शिवा क्षेष्ठ , राधा शर्मा , सुनिता आचार्य , शुष्मा शर्मा र पुष्पा श्रेष्ठ रहेको निर्वाचन अधिकृत घनश्याम थापाले जानकारी दिए ।
दुवै पक्षको छलफल वाट उत्पन्न विवाद समाधानको प्रयास गरिने निर्वाचन अधिकृत थापाले जानकारी दिए ।
