दिपक बोहरा , तुलसीपुर २५ पुस । दाङको धनौरी स्थित माबि तुलसीपुरमा कम्प्यूटर जडान भएको तीन बर्ष बित्यो । २०७० मा जिल्ला शिक्षा कार्यालयले दुईलाख ६० हजार र बिद्यालयको ४० हजार लगानी समेत गरेर तीन लाखमा मावि तुलसीपुरम कम्प्यूटर भित्र्याईएको थियो ।
यो विद्यालयमा कम्प्यूटरका लागि आवश्यक पर्ने बिद्युतको सुबिधापनि उपलब्ध छ । तरपनि मावि तुलसीपुरका कम्प्यूटरहरु नियमित रुपमा सञ्चालनमा आउन सकेका छैनन् । दक्ष कम्प्यूटर शिक्षकको अभावमा विद्यालयका कम्प्यूटर प्रयोग विहीन सामाग्री वा खेलौना जस्तो मात्रै सावित भएका छन् ।
‘ जिल्ला शिक्षा कार्यालयले कम्प्यूटर त उपलब्ध गरायो तर, शिक्षक उपलब्ध गराएको छैन’ बिद्यालयका प्रधानध्यापक दामोदर गौतमले भने ‘ जसले गर्दा कम्प्युटर सञ्चालनमा ल्याउन सकिएको छैन ।’ लामो समयसम्म पनि कम्प्यूटर सञ्चालनमा आउन नसक्दा बिग्रिने अबस्थामा पुगेको गौतमले बताए । अर्काेतर्फ यहाँका बिद्यार्थीले कम्प्यूटर बिषयको प्रयोगत्मक ज्ञान लिनबाट बञ्चित हुनु परेको छ ।
जसका कारण प्रयोगत्मक कक्षाको ज्ञान समेत विद्यार्थीले घोकन्ते रुपमा हासिल गर्नुपरेको मावि तुलसीपुरका बिद्यार्थी राजु केसीले गुनासो गरे । उनले भने‘कम्प्यूटर बिषय पनि घोक्नुपर्ने बाध्यता छ हामीलाई , प्रयोगात्मक नगरेर किताब मात्रै पढेर हामीले कहिले कम्प्यूटर चलाउन सिक्ने हो खै ।’
बिज्ञान र प्रबिधिको तीब्र बिकास भईरहेको समयमा बिद्यार्थीलाई आधुनिक प्रबिधिबाट शिक्षण सिकाई उपलब्ध गराउने उदेश्यले राज्यले विद्यालयमा कम्प्युटरको आधारभुत ज्ञान दिन कम्प्यूटर वितरण गरेको हो । कम्प्यूटर शिक्षाको पठन पाठन सुरु गर्नुको उदेश्यको कारणपनि त्यही हो ।
तर अहिले दाङका अधिकांस बिद्यालयहरुले कम्प्यूटरको सही सदुपयोग गर्न सकेका छैनन् । जिल्ला शिक्षा अधिकारी रमेश मैनाली पनि यो कुरा स्वीकार गर्छन । दाङका सिमित बिद्यालयले मात्रै प्रभाबकारी रुपमा कम्पप्युटर शिक्षा सञ्चालमा ल्याएको जिल्ला शिक्षा अधिकारी मैनालीले बताए ।
शिक्षा अधिकारी मैनालीका अनुसार सही रुपमा कम्प्यूटरको सदुपयोग नहुँदा सम्म कम्प्यूटर शिक्षाको सहिज्ञान विद्यार्थीले हासिल गर्न नसक्ने बताए । उनले भने‘ जुन विद्यालयमा कम्प्यूटरको सही प्रयोग भएको छ , जहाँ विद्यालयले आधुनिक प्रविधिवाट अध्यनगर्न पाउँछन् त्यो बिद्यालय प्रति बिद्यार्थीको आर्कषणपनि बढ्दै गएको पाईएको छ।’
तर कम्प्युटर बितरण गरिएका अधिकांस बिद्यालयले उपलब्ध गराएको कम्प्युटर प्याकिङबाटै नझिकेर दराजमा राख्ने गरेको पाईएको समेत शिक्षा अधिकारी मैनालीले बताए । उनले अगाडि भने ‘ हामीले अनुगमण गर्दा ५० प्रतिसत भन्दा बढी बिद्यालयले प्याकिङबाटै कम्प्युटर नझिकेको पायौं अझ कतिपयले आफ्नो निजी प्रयोजनका लागि घरमै लगको समेत पाईएको छ।’
शिक्षा कार्यालयले कम्प्युटर प्रदान गर्ने तर ती कम्प्युटर प्रयोगमा आए÷नआएको बारेमा अनुगमण नगर्दा यस्तो समस्या उत्पन्न भएको जिल्ला शिक्षा अधिकारी मैनालीले स्वीकारे । बिद्यालयहरुलाई प्रदान गरिएका कम्प्यूटर प्रयोगमा ल्याउन नियमित अनुगमण आबश्यक रहेको उनको भनाई थियो । त्यसो भएमा विद्यालयलाई प्रदान गरेका कम्प्युटर प्रयोगमा आउने मैनालीले बिश्वसास व्यक्त गरे ।
नियमित अनुगमण नहुँदा बिद्यालयमा प्रदान गरिएका कम्प्यूटर समेत केही शिक्षकले घरमा लगेको समेत पाईएको शिक्षा अधिकारी मैनालीले जानकारी दिए । शिक्षा कार्यालयले अनुमगण थालेपछि शिक्षकले घरमा लगेका कम्प्यूटर पनि बिद्यालयमा फिर्ता ल्याउन आफुले भूमिका खेलेको मैनालीले दाबी गरे ।
उनले आबश्यक्ता अनुसार दक्ष कम्प्यूटर शिक्षक नभएकाले त्यस्तो समस्या भएको तर्क गरे । उनले भने‘ कम्प्युटर शिक्षक प्रयाप्त छैन् जसले गर्दा कम्प्युटर शिक्षा प्रयोगात्मक रुपमा जान सकेको छैन् ।’
एक सय दश सामुदायिक बिद्यालयमा कम्प्यूटर
दाङमा हालसम्म एक सय दश सामुदायिक बिद्यालयमा कम्प्युटर वितरण गरिएको छ । जिल्लामा कुल चार सय २१ सामुदायिक विद्यालय छन् । चालु आर्थिक बर्ष २०७३/ ०७४ को पहिलो चौमासिकमा आठ वटा निमाबि र माबिमा कम्प्युटर जडान गरिएको दाङका शिक्षा अधिकारी मैनालीले जानकारी दिए ।
शुभ प्रभात माबि घोराही, माबि धर्ना, माबि भ्यूडहर सुनपुर, माबि ढिकपुर, माबि रझेनालगायत आठ बिद्यालयमा कम्प्यूटर उपलब्ध गराइएको हो । कम्प्युटर जडानका लागि दुई वटा बिद्यालयलाई दश लाख र अन्य छ वटा बिद्यालयलाई ५/५ लाख रकम उपलब्ध गराइएको जिशिअ मैनालीले बताए । दाङमा आर्थिक बर्ष २०७०/ ०७१ म ९० , २०७१/०७२ मा आठ वटा, २०७२/०७३ मा दुई वटा तथा बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा थप दुईवटा सामुदायिक बिद्यालयमा कम्प्युटर जडान गरिएको छ । तर जडान गरिएका अधिकाँस विद्यालयमा अझैं कम्प्यूटरको प्रयोगत्मक ज्ञान विद्यार्थीले पाउन सकेका छैनन् । राप्ती समाचार