इन्द्रेणी संवाददाता
दाङ, २५ पुस । दाङको त्रिपुर नगरपालिकाले ‘एक घर, एक रोजगार’ अभियानलाई अघि सारेको छ । नगरपालिकावासीहरुलाई दश वर्षमा एक घर, एक रोजगार बनाउने उद्देश्यले तेस्रो नगरपरिषदबाट यो अभियान अघि सारिएको हो ।

tripur-napa‘हाम्रो लक्ष्य भनेको दश वर्षभित्र नगरपालिकाका हरेक एक घरको एक व्यक्तिलाई रोजगार बनाउने हो’, नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापाले भने, ‘नगरपालिका क्षेत्रभित्र त्यसैअनुसार विभिन्न सिपमूलक तालिम अघि वढाउने छौं ।’

नगरपालिकाले सो अभियानका लागि आर्थिक वर्ष २०७४/७५ मा विभिन्न सीप विकासका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन पनि गरिएको छ । निकट भविश्यमा नगरपालिकाभित्र सीप विकासका कार्यक्रम होस् या प्राविधिक शिक्षाका विभिन्न अवसर जुटाएर दश वर्षभित्र नगरवासीलाई स्वरोजगार बनाउने लक्ष्य रहेको कार्यकारी अधिकृत थापाले बताए ।

नगरपालिकाले मात्रै यो अभियान सञ्चालन गरेको नभई नगरवासीहरुकै इच्छा अनुसार अभियानलाई नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत अघि सारिएको उनले बताए । ‘नगरवासीहरुले नै परिषदका योजना तर्जुमा कार्यक्रमबाट यो माग अघि सारेका हुन्’, उनले भने, ‘हामीले त्यसै सुझाव र मागलाई नगरपालिकाको नीति तथा कार्यक्रममा राखेका हौं ।’

दाङको सबैभन्दा कान्छो नगरपालिकाको रुपमा रहेको त्रिपुर नगरपालिकाले परिषदबाट कृषि, पर्यटन, स्वाथ्य, खेलकुद, सरसफाइलगायतका महत्वपूर्ण क्षेत्रमा बजेट विनियोजन गरेको छ । नगरपालिकाले आव २०७४/७५ को नीति तथा कार्यक्रमका लागि चालूतर्फ ५ करोड ४७ लाख ६६ हजार ४ सय र पूँजीगतर्फ ९ करोड ९४ लाख ८२ हजार ६ सय गरी  १५ करोड ५६ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन गरको कार्यकारी अधिकृत थापाले जानकारी दिए ।