रुकुम, २५ पुस । रुकुममा गत आर्थिक वर्ष आव २०७२ /७३ को तुलनामा चालू आवको मङ्सिर महीनासम्मको अवधिमा खाद्यान्न उत्पादन बढेको छ ।
चालू आवमा अन्य खाद्यान्न उत्पादनहरूसँगै मकै र धान उत्पादनमा अपेक्षाअनुसार वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय रुकुमले जानकारी दिएको छ ।
कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले भने, ‘यस वर्ष मकै उत्पादनमा २२ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ भने धान उत्पादनमा १० दशमलव ९९ ले वृद्धि भएको छ ।’
रुकुममा यस आवमा १६ हजार ३ सय ६ हेक्टरमा मकैखेती गरिएको थियो । जसमा ३७ हजार ९ सय ८८ मेट्रिक टन मकै उत्पादन भएको छ । त्यति नै क्षेत्रफलमा गरिएको मकैखेतीले गत वर्ष ३० हजार ९ सय ४९ मेट्रिक टन मात्रै उत्पादन भएको थियो ।
यसैगरी, यस वर्ष धान र गहुँ उत्पादनमा पनि वृद्धि भएको छ कार्यालयका अनुसार ९ हजार ८ सय १८ टन धान र २७ हजार २ सय ७५ टन गहुँ उत्पादन भएको छ । विशेषगरी समयमा मल बीउ उपलब्ध भएकाले र खाद्यान्न बालीमा रोग किरा नलागेकाले उत्पादन बढेको हो ।
यसका साथै उन्नत जातको बीउको प्रयोग र कृषिमा बढ्दै गएको यन्त्रीकरणका कारण उत्पादन बढाउन सहयोग गरेको हुमागाईं बताए । तर, प्रत्येक वर्ष रुकुममा कोदोको उत्पादन भने घट्दै गएको उनले बताए । कोदो उपभोग घटेसँगै कोदोका कृषक पनि घटेका छन् ।
