काठमाडौं, २५ पुस । नेपाल सरकारले नवलपरासीको त्रिवेणी–सुस्तास्थित नारायणी नदीमा बनाउन लागेको झोलुंगे पुलमा भारतीय पक्षले अवरोध गरेको छ ।
त्रिवेणी–सुस्ता गाविस–४ का त्यहाँका जनताको सुविधालाई ध्यानमा राख्दै निर्माण थालिएको सो पुलमा भारतीय पक्षले अवरोध गर्दा निर्माण कार्य अघि वढ्न सकेको छैन ।
भारतीय पक्षले पुल निर्माण कार्यमा प्रयोग हुने ढुंगा, गिटी, वालुवा, सिमेन्ट, अन्य उपकरण फालिदिने र कामदार समेतलाई धम्की दिने गरेको छ । त्यस्तै भारतीय सिमा सुरक्षा वल (एसएसबी) पुल निर्माण सामग्री तथा कच्चापदार्थ ओसारपसारमा भारतीय भूमि प्रयोग गर्न दिएको छैन ।
यता पुल निर्माणमा भारतीय अवरोध गरेकोबारे जिल्ला प्रशासन कार्यालय नवलपरासीले गृह मन्त्रालयमार्फत परराष्ट्रलाई जानकारी गराइसकेको बताएको छ । पुल निर्माणमा अवरोध मात्रै होइन त्यहाँ भारतीय पक्षले हजारौं विगाह नेपाली भूमि समेत अतिक्रमण गरेको छ ।
