डडेल्धुरा, २४ पुस । भीमदत्त राजमार्गमा नेपाली सेनाको गाडी दुर्घटनामा परि घाइते भएका ३३ जना मध्ये ११ जनालाई उपचारको लागि काठमाडौं पुर्‍याइएको छ ।

accident_7डडेल्धुराको गरुडदल गण दह ब्यारेक अन्तर्गतको नेपाली सेनाको लु १ ग २९४ नम्बरको एक वान टन नामक ट्रक दुर्घटना हुँदा सेनाका मेजरसहित ३३ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते ११ जनालाई सेनाको एन ए ०५६ नम्बरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

काठमाडौं ल्याइएका घाइतेहरुमा मिठ्ठु थापा, नीरबहादुर सारुमगर, खुमबहादुर बुच्छे, कृष्ण खाँड, भरत बुढामगर, गणेश परियार, कमल सुनार, सुकबहादुर बोडे, कृष्ण अधिकारी, गोपाल रोका र नरेन्द्रप्रसाद जोशी रहेका छन् । घाइते भएका कृष्ण अधिकारी सेनाका मेजर हुन् ।

काठमाडौं पठाईएका ११ जना मध्ये सात जनाको टाउकामा चोट लागेको छ भने अन्य चारको हातखुट्टामा चोट लागेको छ । राजमार्गको हगुल्टे लेकदेखि साहुखर्कसम्म परेको डेढ फिट बाक्लो हिमपात पन्छाएर फर्किने क्रममा दुर्घटना भएको थियो ।