दाङ, २४ पुस । दाङको चखौरामा ‘माघी सांस्कृतिक महोत्सव २०७३’ हुने भएको छ । थारू समुदायको संस्कृति संरक्षणका लागि मटहवाँ महासंघ केन्द्रीय समितिको आयोजना तथा बेसको व्यवस्थापनमा महोत्सवको आयोजना गरिएको हो ।

untitled-1-copy

फोटो फाइल

तुलसीपुरमा पत्रकार सम्मेलनको अयोजना गरी महासंघका केन्द्रीय अध्यक्ष तथा सांसद डिल्लीबहादुर चौधरीले १२ र १३ माघमा हेकुली गाविस ८ चखौरामा दुई दिने महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

महोत्सवमा मुसाको चट्नीदेखि अनदिको भातसमेत व्यवस्था गरिने अध्यक्ष चौधरीले जानकारी दिए । ३५ वटा स्टल रहने महोत्सवमा ढिक्री, घोंघी, गँगटा, बयरको चट्नी, जाँरको झोललगायतका खानाका परिकारको व्यवस्था गरिनेछ । स्टलमा माटाका भाँडाकुँडा, तथा हस्तकलाका सामग्रीहरू ढकिया, डेल्वा, हेल्का, जाल, टापी प्रदर्शनीका रूपमा राखिनेछ ।

त्यसैगरी, राना, देसउरिया, कठरिया, देउखुरिया, डँगौरा थारूको वेषभूषा तथा गरगहनाहरूको प्रदर्शनी पनि मुख्य आकर्षकका रूपमा रहनेछन् । महोत्वसमा देशका विभिन्न जिल्लामा बसोबास गर्नेदेखि छिमेकी भारतबाट समेत गरी ४ हजार थारू समुदायका मटहवाहरूको सहभागिता रहनेछ । महोत्सवमा काग्रेस सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेताहरु आउने कार्यक्रम पनि रहेको बताइएको छ ।