तुलसीपुर २४ पुस । गायिका कोमल वलीको गीतमा थारु सांसद र थारु युवायुवती छमछमती नाचेका छन् । शनिवार तुलसीपुर ४ मोतिपुरमा भुह्याँर थान उद्घाटन तथा माघी मिलन थारु सांस्कृतिक कार्यक्रममा वलीले गीत गाउँदा त्यहाँ उपस्थित सांसद डिल्लीबहादुर चौधरी र थारु युवायुवती छमछमती नाचेको दृष्य निकै रोचक देखिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि बनेर पुगेकी गायिका वली जव स्टेजमा पुगिन उनलाई गीत गाउन दर्षक दिर्घावाट आग्रह आयो । सुरुमा उनले तुलसीपुरमा मै जाँदा खेरी… भेटै भयो गजवको तन्नेरी…बोलेको गीत डिजेबाट आसपासका ठाँडापाखा गुञ्जायमान गराउँदा सबै मौन र मन्त्रमुग्ध बनेका थिए । तर गाँउदै गर्दा दर्षक दिर्घामा बसेका थारु युवा युवतीहरुलाई नाच्न हौस्याउँदै गायिका वलीले निम्त्याएकी थिइन । त्यसपछि केही थारु युवायुवती नाच्नको लागि स्टेज आए ।
त्यसवाट उत्साहित बन्दै उनले लगतै बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा… बोलको गीत प्रस्तुत गरिन । कोमल वलीले सांसद डिल्लीबहादुर चौधरीलाई गीत गाँउदै भनिन् ‘सोल्टी राजा नाच्न आउनु पर्यो, यस्तो हेन्सि सोल्टी देखेर भुतुक्कै भाकीछु ।’ यति भनेपछि कार्यक्रमका प्रमुख अतिथि एवं सांसद डिल्लीबहादुर चौधरी उठेर अगाडिको बाँझो खेतमा गएर नाँच्न थाले । कोमल वलीपनि के कम, सांसद चौधरीको हात समायर मज्जाले नाच्न थालिन ।
र त्यतिबेला हुटिङ र तालिले आसपासको क्षेत्र गुञ्जायमान बनेको थियो । यर्थाथमा सांसद चौधरी र गायिका वली नाताले सोल्टी सोल्टनी नै रहेछन् । त्यसको राज पछि सांसद चौधरीले खोलेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं सांसद चौधरी नै कोमल वलीसंग नाच्न थालेपछि त्यसपछि त झन को भन्दा को कम भनेझैं पहाडी गीतमा झुमिरहेका थारु युवा युवती हुर्रीएर स्टेजमा पुगे र मन खोलेरै नाच्न थाले । त्यसवाट त्यहाँ उपस्थित सबैले मज्जाले मनोरञ्जन लिएका थिए । युवा युवती मात्रै हैन , चौधरी समुदायका जेष्ट नागरिकहरु समेत कोमल वलीको गीतमा तालमा ताल मिलाएर नाच्न प्रयास गर्दाको त्यो दृष्य निकै रोचक देखिन्थ्यो ।
गायिका वलीले, माया बस्यो मुटुमा मायाको मिठास छुट्टै चलचित्र आगोको गीत गाँउदा होस वा चलचित्र मितेनीको , म त छु चिटिक्कै परेकी पियारी , कोई मर्द छौ भने आउ खेलौैैं जुहारी… लगायतका गीत प्रस्तुत गर्दा त्यहाँ उपस्थित थारु युवा युवतीहरु मनखोलेर छमछमी नाचेका थिए ।
छिटो पोईल नजान आग्रह
गीत सकेर अन्त्यमा गायिका वलीले सम्क्षिप्त मनतब्य व्यक्त गरिन । राप्रपाकी नेतृ समेत रहेकी उनलाई सांसद चौधरीले काँग्रेसमा आउन छोडि कहाँ राप्रपामा गएको भनेर जिस्काएको भएपनि उनले भाषणमा भने राजनीतिको कुरा गरिनन् ।
बरु उनले त्यहाँ उपस्थित थारु युवतीहरुलाई यसरी सम्झाएकी थिइन ‘कोमल वलीले को पोईल जान पाम भन्ने गीत गाएपनि त्यो गीत हो, त्यसैमा मख्ख नपर्नु र सानै उमेरमा पोईल नजानु ।’ थारु समुदायमा सानै उमेरमा विहेगर्ने प्रचलन गलत भएको उल्लेख गर्दै उनले पढ्ने उमेर विवाह नगर्न सुझाएकी थिइन ।
‘ सानै उमेरमा पोइन नजानु बरु आफनो आधार बनाएर अलि परिपक्व भएर मात्रै पोइल जानु ।’ गायिका वलीले यो भनिरहँदा युवा युवती भने मुखामुख गरेका देखिन्थे ।
एकताको प्रतिक संस्कृति : सांसद चौधरी
कार्यक्रमका प्रमुख अतिथि सांसद डिल्लीबहादुर चौधरीले हरेक जातजाति बीचको एकताको प्रतिक धर्म र संस्कृती भएको बताएका छन् । ‘हरेक जातजातिलाई एकतामा बाँध्ने शक्ति संस्कृति हो, संस्कृति मिलन विन्दु हो ।’
सांसद चौधरीले भनेका थिए ‘ अहिले तपाँई हामी यही संस्कृतीकै कारण काँग्रेस, एमाले, माओवादी, राप्रपा जस्ता दलहरु संगै बसेका छौं र त्यसैले हाम्रो एकताको प्रतिक संस्कृती हो ।’ उनले हरेक गाँउमा देउठन्ह्वा निर्माण गर्न आग्रह गरेका थिए ।
पहिले–पहिले विहे गरेपछि न पहाडी र थारु सबैले देउठन्ह्वा प्रचलन थियो र त्यो आजपनि कायमै छ । त्यसो नगर्दा श्रीमती रक्साले लैजान्छ भन्ने गरिन्थ्यो र आजपनि त्यो कुनै न कुनै रुपमा मान्दै आइएकोले धर्म र संस्कृति नै एकताको प्रतिक भएको उनले बताए ।
तर सांसद चौधरीले थारु संस्कृति विशाल भएपनि त्यो बचाउन चुनौति थपिदै गएको बताए । उनले भने ‘न दशैंमा थारुको पौरानिक नृत्य र मादल बच्छ न माघी आउँदा आजकल बजेको सुन्छु र पहिला महिना दिन अघि देखि त्यो सुरु हुनेगर्दथ्यो ।’
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेर थारु जातिको कला संस्कृती संरक्षण गर्नका लागि १० करोड बजेट विनियोजन गर्न आग्रह गर्ने बताएका उनले दाङमा मात्रै ५० देखि १०० वटा सम्म देउठन्ह्वा निर्माणगर्न आवश्यक रहेको बताएका थिए । राजनीतिक दलहरु आफनो स्वार्थको लागि राजनीति गर्ने भएपनि महतवाहरुले समाजलाई बिसुद्ध रुपमा सेवा प्रदान गर्दै आएकोले यसवाट नेताहरुले पाठ सिक्नुपर्ने उनको तर्क थियो ।
महतवा गाँउको अगुवा मात्रै नभएर सबै जातजातिको एकताको प्रतिकको रुपमा रहने हुँदा यसको अनुशरण राज्य संचालकहरुले गर्नुपर्ने उनको धारणा थियो । सांसद चौधरीले नगरपालिकाको ६०÷४०को अवधारणाले पैंशा तिर्न सक्नेहरु भएको क्षेत्रलाई मात्रै लाभ भएकोले अब पुराना गाँउहरुको कालोपत्रे गर्नका लागि थप १५ करोड बजेट छुट्याउन दवाव सृजना गर्ने आश्वासन दिएका थिए ।
थारु बस्ति रहेका पुराना गल्लिहरु हालसम्मपनि जस्ताको त्यस्तै रहेकोले त्यो कालोपत्र गर्न राज्यले ध्यान दिनुपर्ने उनको धारणा थियो । मोतिपुरको भुह्याँर थानलाई डेढ लाख दिने उनले घोषणा गरेका थिए ।
एकता टोल विकास संस्थाका अध्यक्ष छोटीलाल चौधरीको अध्यक्षतमा भएको उक्त कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी दाङका अध्यक्ष नारायण आचार्य, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, महतवा महासंघका जिल्ला अध्यक्ष शरण थारु, भुह्याँर थान निर्माण समितिका संयोजक दामु चौधरी, बुझौना चौधरी, मेघराज भण्डारी, गुरु प्रशाद लम्साल, पत्रकार गोपाल शर्मा भट्टराई, जगधनी चौधरी लगायतले सम्बोधन गरेका थिए ।
स्थानीय निमा चौधरीको स्वागत मनतब्यवाट कार्यक्रम सुरु भएको थियो । अधिकाँस थारु समुदायका मानिसहरु उपस्थित भएपनि भुह्याँर थान उद्घाटन कार्यक्रमको सहजीकरण भने निर्मल शर्माले गरेका थिए । अझै रोचक प्रशंग उक्त भुह्याँर थान निर्माणका लागि नगद ५० हजार सहयोग गर्ने स्थानीयबासी प्रकास आचार्यलाई उनलाई कदर पत्रले सम्मान गरिएको थियो ।
यति सम्मकी कार्यक्रममा प्रस्तुत विभिन्न थारु गीत र नृत्यहरु मध्ये उत्कृष्ट चयन गर्न बनेको तीन सदस्य निर्णायक मण्डल मध्य दुईजना पहाडी मुलका थिए भने नारायण चौधरी एक्ला निर्णायक मण्डलमा बसेका व्यक्ति थिए । राप्ती समाचार
