काठमाडौं, २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन् ।
बिहीबार ३३ किलो सुनसहित प्रहरीले पक्राउ गरेका शाहीले केन्द्रीय अनुसन्धान ब्युरोसँग यस्तो बयान दिएका हुन् । शाहीले सुन तस्करीमा संलग्न केही नेपाली तथा भारतीय व्यापारीको नामसमेत खोलेको सीआईबी स्रोतले उल्लेख गरेको छ ।
दुबईका कारोबारीसँगको साँठगाँठमा नेपालमा सुन तस्करी गर्दै आएका नेपालगन्जका शाहीबारे सीआईबीले दुई महिनादेखि सूचना संकलन गर्दै आएको थियो । ‘तपाईंहरू सुन तस्करीको शृंखलामा ११ औं पटकमा मलाई समात्न सफल हुनुभयो । यसअघि पटकपटक गरेर तीन सय किलो सुन विमानस्थलको घेराबाट बाहिर पठाइसकेको थिएँ, शाहीको बयान उद्धृत गर्दै सीआईबीका एक उच्च अधिकृतले भने ।
शाहीले प्रहरीलाई उपत्यकामा बसेर तस्करीमा सेटिङ गर्ने केही व्यापारी र भारतीय व्यापारीका नामसमेत खुलाएको स्रोतले बताएको छ । सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले घटनामा ठूला व्यापारी, विमानस्थलकै उच्चपदस्थ कर्मचारी र अन्य गिरोहको मिलोमतोमा सुन बाहिरिएको दाबी गर्दै अनुसन्धानले पूर्णता नपाएसम्म बरामद सुन राजस्व अनुसन्धान विभागको जिम्मा नलगाउने बताए ।
उनले भने, ‘बिहीबार बरामद सुन तस्करले पहिलो प्रयासमा विमानस्थलबाट बाहिर ल्याउन सफल भएका होइनन् । यसमा ठूलै मिलोमतो छ । विस्तृत अनुसन्धान गरेर मात्रै सुन राजस्वलाई बुझाउँछौं ।ु गृह मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले तस्करीमा जोसुकै संलग्न भए पनि कारबाही गर्न प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र डीआईजी सिलवाललाई निर्देशन दिए ।
प्रहरी महानिरीक्षक अर्याल शुक्रबार बिहान सीआईबी पुगेर प्रहरीले देखाएको अग्रसरताप्रति स्याबासी दिँदै तस्करीमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन सिलवाललाई निर्देशन दिएका थिए । ‘यो घटनामा कोको प्रहरी, भन्सारका कर्मचारी र व्यापारी मिलेका छन्, सबैलाई कारबाहीको दायरमा ल्याउनुस्ु, अर्यालले भने ।
बिहीबार प्रहरीले सुन बरामद गर्दा सुटकेसबाट सुनका २० थान सिक्री आकारका माला र १९ थान बेरुवा औंठीसमेत बरामद गरेको थियो । सीआईबीले बिहीबार शाही, मोरङ पथरीका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई ३३ किलो सुन बरामद घटनामा पक्राउ गरेको थियो ।
विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले सुरक्षा निकायको जिम्मेवारी पन्छाउँदै यो घटनामा भन्सार बढी जिम्मेवार रहेको दाबी गरे । उनले भने, ‘भन्सारमा सामान पुगेपछि प्रहरीले खोलेर हेर्न मिल्दैन । उसले कुन सामान राख्ने र नराख्ने निर्णय लिन्छ ।
हामीसँग समन्वयमा भन्सारले कुनै काम गर्दैन तर पनि प्रहरीको संलग्नता पाइए कारबाही हुन्छ ।ु उनले सीआईबीको समन्वयमा विमानस्थलको सीसीटीभी र कर्मचारीको कलडिटेल जाँच गरिरहेको बताए । सुनसहित पक्राउ परेकालाई सीआईबीले संगठित अपराधमा मुद्दा चलाउने भएको छ ।
भन्सारका २९ कर्मचारीलाई ड्युटीमा रोक
३३ किलो सुन विमानस्थलबाट बाहिरिएपछि अनुसन्धानको दायरामा परेको त्रिभुवन विमानस्थलमा भन्सार कार्यालयमा खटिएका २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाइएको छ ।
बुधबार रातिदेखि बिहीबार अपराह्नसम्म खटिएका उपसचिवदेखि पियनसम्मका २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाइएको जानकारी प्रमुख भन्सार प्रशासक नारायणप्रसाद सापकोटाले दिए । उनले भने, ‘यो घटनामा भन्सारलाई मात्रै मुछिएकाले अनुसन्धानका लागि प्रमाण लुकाउने आशंकामा २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाएर अन्यलाई खटाइएको छ । छानबिन गरेर मिडियासामु पेस गर्छौं ।
सापकोटाका अनुसार भन्सारका उपसचिव, एक्सरे मेसिन जाँच गर्ने ठाउँमा खटिएका कर्मचारी, भन्सारको राजस्व बुझाउन ठाउँमा खटिएका कर्मचारी र अन्य सहयोगीलाई ड्युटीमा रोक लगाइएको हो । सापकोटाले भन्सारसँगको समन्वयमा काम गर्ने सुरक्षा निकाय, एयरलाइन्स कम्पनीहरूको पनि कमजोरी औंल्याउनु जरुरी रहेको बताए । अन्नपूर्णबाट
