बाँके, १७ पुस । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले द्वन्द्वकालदेखि हालसम्म गम्भीर प्रकारका मानवअधिकार उलंघनका घटनामा संलग्न सयौँ नेता र सुरक्षाकर्मीको नाम आयोगले कालोसूचीमा रहेको बताएकी छिन् । उनले त्यो कालोसूचीका नाम छिटै सार्वजनिक गरिने समेत बताएकी छिन् ।
राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालयले गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता अन्सारीले कालोसूचीमा परेकाहरुको एकिन सङ्ख्या अहिले खोल्न नमिल्ने जनाउँदै तर सयौँ रहेको भने दाबी गरिन् । उनले आयोगले यसैवर्ष कालोसूची सार्वजनिक गर्ने कार्ययोजना बनाइएको जानकारी दिइन् ।
कालोसूची आफूसँगै रहेको भन्दै प्रवक्ता अन्सारीले आयोगले धेरै छलफल र विचार विमर्शपछि सार्वजनिक गर्ने निर्णय गरेको उल्लेख गरिन् । आयोगको कालोसूचीमा वर्तमान सरकारका मन्त्रीहरु समेत रहेको सङ्केत गर्दै उनले ती मध्ये कतिलाई त अदालतले नै कालोसूचीमा राखिसकेको प्रस्ट पारिन् ।
मानवअधिकार उलंघन गर्नेहरुको सूची आयोगले सार्वजनिक गर्न थालेको थाहा पाएर केही सुरक्षाकर्मीहरुले देश छोडिसकेको अन्सारीले खुलासा गरिन् । आयोगको कालोसूचीमा परेकाहरु जहाँ गएपनि उनीहरूलाई कानुनी दायरामा ल्याइने प्रस्ट पार्दै केही सुरक्षाकर्मीहरुलाई अन्तरराष्ट्रियस्तरको तालिम र गोष्ठीहरुमा भाग लिन नपाउने गरी रोक लगाइएको पनि खुलासा गरिन् ।
मानवअधिकारको सवालमा सरकारले दोहोरो मापदण्द अपनाएको आरोप लगाउँदै उनले सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा अलग(अलग कुरा गरिरहेको आरोप लगाइन् ।
आयोगले गरेका अधिकांश सिफारिसहरु कार्यान्वयन नभएकोले मानवअधिकार बहालीमा सरकार गम्भीर नदेखिएको पनि उनको भनाई थियो । आयोगको कालोसूचीमा वर्तमान सरकारका मन्त्रीहरु समेत रहेको सङ्केत गर्दै उनले ती मध्ये कतिलाई त अदालतले नै कालोसूचीमा राखिसकेको प्रस्ट पारिन् ।
आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेलले मध्यपश्चिम क्षेत्रमा मानवअधिकार उलंघनको अवस्था दयनीय रहेको जनाउँदै हिरासतमा यातना, कारगारमा क्षमता भन्दा दोब्बर तेब्बर कैदी बन्दी कोचिएको, हत्या हिंसा, बालश्रम, महिला हिंसा, घरेलु हिंसा र बलात्कारका घटना बढिरहेको उल्लेख गरे ।
