काठमाडौं १५ पुस । नेपालको आन्तरिक उडानमा १६ अर्ब रुपैयाँ लगानी थपिने भएको छ । स्वदेशी वायुसेवा कम्पनीले सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमसहित निजी कम्पनीले हवाइ क्षेत्रमा थप १६ अर्ब रुपैयाँ लगानी गर्ने भएपछि लगानी गपिने भएको हो ।
आधा दर्जनभन्दा बढी वायु सेवा कम्पनीले नयाँ जहाज खरिदमा लगानी थप गर्ने बताएका छन्। बुद्ध, यति, श्री, नेपाल एअरलाइन्स, गोमा, सौर्यलगायत कम्पनीले हवाइ क्षेत्रमा ठूलो लगानी गर्न लागेका हुन्।
बुद्ध एअरले आगामी एक महिनाभित्र नयाँ जहाज ल्याउने तयारी थालेको छ। यसका लागि कम्पनीले करिब एक अर्ब रुपैयाँ लगानी गर्ने बुद्ध एअरका मार्केटिङ म्यानेजर रुपेश श्रेष्ठले जानकारी दिए।
‘जनवरीको अन्त्य तथा फेब्रुअरी पहिलो हप्ताभित्र एउटा जहाज काठमाडौं आइपुग्छ,’ उनले नेपालखबरसँग भने, ‘दोस्रो जहाज भने आगामी सेप्टेम्बरमा काठमाडौंमा ल्याउने योजना छ।’ कम्पनीले दुई वटा जहाज खरिद गर्न २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने जनाएको छ।
त्यसैगरी, यति एअरले पनि नयाँ जहाज खरिद गर्न ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ। कम्पनीले नयाँ जहाज खरिदका लागि सम्झौता गरिसकेको छ। कम्पनीका मार्केटिङ म्यानेजर भिम राईका अनुसार आगामी चार महिनाभित्र नयाँ जहाज काठमाडौं ल्याउने गरी काम भइरहेको छ।
