काठमाडौं, १५ पुस । व्यवस्थापिका–संसद्को विकास समितिले आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तोक्न सरकारलाई निर्देशन दिएको छ ।

election-in-nepalप्रमुख राजनीतिक दलबीच स्थानीय तह वा निकाय कुन निर्वाचन गर्ने अलमल भइरहेका बेला समितिले स्थानीय तहको नै निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सत्तारूढ दल र प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफलमा स्थानीय निकाय वा तहको निर्वाचन गर्ने विषयमा विवाद भएको थियो । समितिले प्रमुख दलका प्रमुख सचेतक, निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त, स्थानीय विकास मन्त्री, सीमा निर्धारण आयोगका अध्यक्षसँग छलफल गरेपछि यस्तो निर्देशन गरेको हो ।

संघीयता कार्यान्वयन गर्ने पहिलो खुड्किलो भनेको स्थानीय तहको निर्वाचन भएको भन्दै समितिले निर्वाचनलाई प्राथमिकतामा राख्न भनेको छ । राजधानीमा खवर छ ।

समितिले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन बुझेर निर्वाचनका लागि आवश्यक पर्ने कानुन संसद्मा पेस गर्न पनि सरकारलाई निर्देशन दिएको सभापति रवीन्द्र अधिकारीले जानकारी दिए । बैठकमा समितिका सदस्यहरूले स्थानीय तहको निर्वाचनको मिति तोक्न दबाब दिएका थिए ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने निर्वाचनमा रचनात्मक सहयोग गर्ने बताएको छ । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोधन विधेयकलाई रोकेर निर्वाचनसम्बन्धी विधेयक ल्याउनुपर्ने बताए । एमाले स्थानीय तहको निर्वाचनलाई रचनात्मक ढंगले सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।