jana

दिपक बोहरा , तुलसीपुर १४ पुस । दाङका ३९ सरकारी स्वास्थ्य संस्थालाई निःशुल्क मृगौला परिक्षण गर्न किट बितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क मृगौला परिक्षणका लागि जिल्लाका ३९ स्वास्थ्य संस्थामा किट उपलब्ध गराइएको जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलका अनुसार सरकारले दाङमा निःशुल्क मृगौला परिक्षणका १७ हजार एक सय ‘डिपिस्टीक किट’ उपलब्ध गराईएको छ ।
ती मध्य प्रत्येक स्वास्थ्य संस्थालाई जनसंख्याका आधारमा न्युनतम चार सय देखी अधिकतम सात सय किट स्वास्थ्य संस्थामा बितरण गरिएको उनले जानकारी दिए ।

निःशुल्क रुपमा स्थानिय स्तरबाटै मृगौला परिक्षण गर्न सकिने भएकाले सेवा लिन उनले सबैलाई आग्रह पनि गरेका छन् । मृगौलामा युरियाको मात्रा बढि हुने भएमा फेल हुने सम्भाबना हुने भएकाले मृगौला परिक्षण गर्न उनले आग्रह गरेका हुन् । प्रमुख पोख्रेलका अनुसार यो सेवा देशभर उपलब्ध छ ।

‘हरेक ६/६ महिनामा मृगौला परिक्षण गर्नुपर्ने भएपनि नेपालमा धेरैले फेल भएपछि मात्रै थाहा पाउँछन्’, उनले भने ‘मृगौला गुम्न नदिन सरकारले समयमै परिक्षण गर्ने व्यवस्था गरेको हो । ’ स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन महाशाखाले जिल्ला जनस्वास्थ्य कार्यालयको मातहतमा रहने गरी देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्नेगरी किट पठाएको छ ।

आवश्यकता अनुसार अरु पनि किट पठाउन सकिने महाशाखाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाईएको महाशाखाका निर्देशक भिमसिंह टिंकरीले जानकारी दिए । पछिल्लो समय दाङ लगायत देशैभर मृगौला रोगबाट पीडित हुनेको संख्या बढदै गएको भन्दै ६÷६ महिनामा मृगौला परिक्षण गराउनु पर्ने प्रमुख पोख्रलले बताए ।

बिना परिक्षण मृगौला रोग थाहा पाउन नसकिने तथा लक्षण देखिएपछि उपचार गर्न पनि उपचारमा पनि समस्या हुने भएकाले सजक रहन उनले आग्रह गरे । उनले मृगौला रोगको लक्षण देख्नु भनेको मृगौला बिग्रिसकेको अवस्था भएकाले हरेक ब्यक्तिले वर्षमा एकपटक आफ्नो मृगौला परीक्षण गर्नुपर्ने बताए ।

‘नेपाली समाजमा धेरैले रोगको लक्षण देखिएपछि वा बिरामी भएपछि मात्र उपचारमा ध्यान दिने गर्छन्,’ उनले भने ‘ जुन कुरा सरासर गलत हो ।’ मृगौलाको रोग भनेको लक्षण नै नदेखि हुने समस्या भएको उनले बताए । जुन रोगबाट धेरैजसो युवाहरुमा बढि देखिने गरेको उनको भनाई छ । ‘मृगौलाको उपचार गर्न पनि निकै महङ्गो पर्छ’उनले भने ‘ यो रोग लागेपछि शरीरको अवस्था त कमजार हुन्छ नै आर्थिक अवस्था पनि कमजोर बनाउछ ।’

हामीले खाएको खाद्य पदार्थ जुन शरीरलाई चाहिँदैन त्यसलाई बाहिर फाल्ने काम गर्ने मृगौलाको ख्याल गर्न सरकारले निःशुल्क किट पठाएको प्रमुख पोख्रेलले बताए । उनले भने ‘ दुुषित पदार्थ शरीरमा नबसोस भनेर मृगौलाले पिसाबको माध्यमबाट फ्याक्ने काम गर्छ, यसमा समस्या देखियो भने उच्च रक्तचापको समस्या देखिन्छ ,यो नै मृगौला रोगको मुख्य लक्षण हो । ’

शरीर सुनिनु, पिसाबको मात्रा घट्नु , रगत छानेर दुषित पर्दाथ पिसाबमा फाल्ने क्षमता घट्नु यस्का अन्य लक्षण भएको उनले बताए । राप्ती समाचार