सेन स्मृति पुरस्कार सुशील र क्षितिजलाई
इन्द्रेणी संवाददाता
दाङ, ११ जेठ । यस वर्षको कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमलाई दिने निर्णय गरिएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले पत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार गौतमलाई दिने निर्णय गरिएको हो ।
त्यसैगरी यस वर्षको कृष्ण सेन ‘इच्छुक’ स्मृति साहित्यिक पुरस्कार साहित्यकार क्षितिज मगरलाई प्रदान गर्ने निर्णय गरिएको छ । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङले स्थापना गरेको उक्त पुरस्कार साहित्यकार मगरलाई दिने निर्णय गरेको जनसांस्कृतिक महासंघका दाङका अध्यक्ष प्रकाश पन्थीले जानकारी दिनुभयो ।
मंगलबार घोराहीमा बसेको क्रान्तिकारी पत्रकार संघ दाङ, क्रान्तिकारी पत्रकार महासंघ दाङ र एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको बैठकले यस्तो निर्णय गरेको हो । सेनको १४ औं स्मृति दिवसका अवसरमा जेठ १३ गते बिहीबार घोराहीमा हुने विशेष कार्यक्रममा ती पुरस्कारहरु समर्पण गरिने क्रान्तिकारी पत्रकार संघ, दाङका अध्यक्ष डिल्ली मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार दुबै पुरस्कारको राशी रु. १०/१० हजार र सम्मान–पत्र रहेको छ ।
यसैबीच पत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’को १४ औं स्मृति दिवस नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङले संयुक्तरुपमा मनाउने भएको छ ।
पत्रकार कृष्ण सेनको हत्या भएको दिन जेठ १३ गते घोराहीमा संयुक्त कार्यक्रम गरी १४ औं स्मृति दिवस मनाउन लागिएको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयो । स्मृति दिवसकै अवसरमा नेपाल पत्रकार महासंघ दाङले कृष्ण सेनको स्मृतिमा पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गर्ने र सेनलाई मरणोपरान्त पुरस्कृत गर्ने निर्णय गरेको पनि गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल पत्रकार महासंघ दाङ शाखामा घोराही–५ नवलपुरका रामप्रसाद जैशी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि–जमुना पोख्रेल स्मृति पत्रकारिता पुरस्कार मरणोपरान्त कृष्ण सेनलाई समर्पण गर्न लागिएको हो ।
जेठ १३ गते बिहान साढे ७ बजेदेखि शुरु हुने कार्यक्रममा अध्यक्ष गौतमले सम्पूर्ण पत्रकार, साहित्यकार तथा सरोकारवाला सबैलाई उपस्थितिका लागि अनुरोधसमेत गर्नुभएको छ ।।