सन्तोष खडेरी
बिगत लामो समय देखि वैदेशिक रोजगारी का सिलसिलामा युएई का विभिन्न क्षेत्रमा छरिएर रहेका दाङ जिल्ला बासीहरुको साझा सामाजिक संस्था दाङ देउखुरी समाज यु।ए।ई। ले आफ्नो स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेकोमा हालै दाङ गंगापरस्पुर गाविस वडा नं-६ खेज्रौटा र वडा नं-८ बाँकीमा भीषण आगलागिमा परि आफ्नो घररगोठ गुमाएका अग्नि पिडितहरुलाई राहत वितरण गरेको छ।
दाङ देउखुरी समाज यु.ए.ई को प्रतिनिधित्व गरेर युएई बाट राहत वितरणमा सहभागी भएका समाजका सदस्यहरु श्री जुद्द बहादुर भण्डारी, यम बहादुर महरा,रेखराज भण्डारी र लाल बहादुर के.सीले गंगापरस्पुरका ५४ घर परिवार अग्नि पिडितहरुलाई प्रती परिवार १ क्वीन्टलका दरले करिव २ लाख रुपैयाँ बराबरको राहत वितरण गर्नुभएको हो। गंगापरस्पुर वन कार्यालय भवनमा भएको उक्त राहत वितरणमा स्थानीय प्रशासन,स्थानीय निकाय,उद्योग वाणिज्य संघ,संचारकर्मी, दाङ देउखुरी सेवा समाज कतार साथै अन्य विभिन्न सामाजिक संघसंस्थको पनि उपस्थिति रहेको थियो।
राहत वितरणमा संस्थाका प्रतिनिधिहरुले प्रवासमा रहे पनि सानो नै भए पनि यसरी आफ्नो मातृभूमिको सेवा गर्ने मौका पाएकोमा खुशी ब्यक्त गर्दै समाजको यस अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भएको थियो भने पिडितका तर्फबाट पनि प्रवासमा रहेर पनि एकजुट भइ यसरी मातृभूमीको सुखदुःखमा साथ र सहयोग गर्ने दाङ देउखुरी समाज युएई प्रती कृतज्ञता व्यक्त गर्नु भयो।