धनगढी, ६ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी मात्र नभएर आन्दोलन पनि भएको बताएका छन् । माओवादी केन्द्रले आयोजना गरेको सात नम्वर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
सात नम्वर प्रदेशका नेता, कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो । कसैले चाहेर पार्टी त सानो ठूलो हुन सक्ला ।
तर, युगान्तकारी परिवर्तनका मुद्धा कायम रहेसम्म माओवादी आन्दोलन कायमै रहन्छ । हामी नरहुँला । तर, माओवादी अझै शक्तिशाली भएर रहन्छ । यो कुनै पार्टी मात्रै होइन, नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन पनि हो ।’
राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै प्रचण्डले भने, ‘सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध छ । हिमाल, पहाड र तराईलाई एकअर्कामा लडाएर होइन, एकतावद्ध गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिन्छ ।
सरकार राष्ट्रिय एकता हासिल गरेर निर्वाचनमा जाने तयारीमा छ । संविधान संशोधन प्रस्ताव संविधान कार्यान्वयनका लागि जरुरी थियो । निर्वाचनको वातावरण नबनाई संविधानको कुरा गर्नु आदर्श त हुन सक्ला । तर, वास्तविक समाधान हुन सक्दैन ।’
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’ले संगठनलाई व्यवस्थित बनाएर स्थानीय निर्वाचनको तयारी गर्न कार्यकर्तालाई आग्रह गरे ।
