काठमाडौं, ५ पुस । श्रीमान श्रीकृष्ण श्रेष्ठको दुखद निधन भएको झण्डै साढे दुई वर्षपछि नायिका श्वेता खड्का आफ्नो काम फर्केकी छिन् । विस २०७१ साउन २४ मा अभिनेता श्रेष्ठको निधनले शोकमा डुबेकी श्वेताले त्यसबेलादेखि मन लगाएर कुनै पनि काम गर्न सकेकी थिइनन् ।
श्रीमान् श्रीकृष्णको वियोगका कारण केही समय डिप्रेशनमा परेकी श्वेता अब भने सामान्य जीवनयापन र काममा फर्केकी छिन् । आफ्नो कामलाई अघि बढाउन अप्ठेरो भएपनि अब भने कामलाई निरन्तरता दिन लागेको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकबाट दिएकी छिन् ।
उनले आफ्नो कार्यालयमा खिचिएका दुईवटा तस्बिर सेयर गर्दै आफू पुरानै काममा फर्केको खुलाएकी हुन् । उनले आफ्नो कार्यालयको कक्षमा श्रीकृष्णको तस्बिर सजाएकी छिन् । जुन उनले सेयर गरेका तस्बिरमा स्पष्ट देखिएको छ ।
श्वेताले फेसबुकमा स्टाटस लेख्दै, आफू निकै ठूलो दुःखमा परेका कारण काममा निकै ग्याप भएको र अब सामान्य जीवन र काममा फर्केको बताएकी छिन् । श्वेता पेशाले अभिनेत्रीका साथै एक इन्जिनियर पनि भएका कारण घर निर्माणदेखि घरको आन्तरिक डिजाईन पनि गर्दै आइरहेकी छिन् ।