इन्द्रेणी संवाददाता
दाङ, ४ पुस । नेपाल पत्रकार महासंघ दाङशाखाले आज आफ्नो २४ औं स्थापना दिवस मनाएको छ । महासंघको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारहरुले सामाजिक दायित्वबोध गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए ।
दाङको समग्र विकासमा सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै वक्ताहरुले विकासमा सञ्चारकर्मी र सञ्चार माध्यमको भूमिका अपरिहार्य भएकोमा जोड दिएका थिए ।
महासंघ दाङका अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले सञ्चारकर्मीहरु समाजका दर्पन भएको उल्लेख गर्दै अझ वढी समाजिक दायित्वबोधका साथ कमल चलाउन आग्रह गरे ।
कार्यक्रममा विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी, दीपक काफ्लेले पत्रकारहरुलाई आफ्नो पत्रकारिताको धर्म निस्पक्षताका साथ निर्वाह गर्न अनुरोध गरे । त्यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदिप शर्माले पनि पत्रकारहरुले जिम्मेवारीका साथका साथ आफ्नो कार्यमा लाग्नुपर्ने बताए ।
दिवसको अवसरमा पत्रकार कपि घिमिरे, सुलोचना गौतम, पाण्डव शर्मा, प्रेमबहादुर राम्जा, दिप्ती शिखा र दीपक बोहरालाई पुरस्कृत गरिएको थियो भने पत्रकार महासंघमा पुरस्कार स्थापना गर्नेहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न सुवेच्छुक संघ संस्था, राजनीतिक दललगायतका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । उपाध्यक्ष लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममको सहजीकरण सहसचिव डिल्ली मल्लले गरेका थिए ।