काठमाडौ ४ पुस । निजी एयरलाइन्सहरुले दुर्गम बाहेक ट्रंक सगम र पर्यटकीय रुटको हवाई भाडा आज सोमबारदेखि लागू हुने गरी ३० प्रतिशतसम्म बढाएका छन् ।
पर्यटन मन्त्री जीवनबहादुर शाहीले मंसिर २७ गते दिएको सहमती अनुसार आन्तरिक रुटमा उडान भर्ने निजी एयरलाइन्सको छाता संगठन वायुसेवा संचालक संघले हवाई भाडा बढाउने निर्णय गरेको सिम्रिक एयरलाइन्सका मार्केटीङ तथा सेल्स प्रमुख प्रज्वल थापाले बताए ।
यसपटक सबैभन्दा धेरै काठमाडौं–धनगढी रूटको हवाई भाडा बढाईएको छ । यस रुटमा आइतबारसम्म एकतर्फी भाडादर १० हजार १ सय रुपैयाँ थियो । तर, सोमबारदेखी जारी भएका टिकटमा २३ सय रुपैयाँ थप भई १२ हजार २ सय रुपैयाँ बनाइएको छ । कान्तिपुरमा खवर छ । पूरानो भाडा दरमा पर्वतीय उडानको भाडामा सबैभन्दा धेरै २४ सय ७५ रुपैयाँ थपिदा ११ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी काठमाडौं देखि भद्रपुरमा १८ सय ७०, विराटनगरमा १६ सय ४५, जनकपुरमा ६ सय, सिमरामा ५ सय ६५, तुम्लिङ्गटारमा ९ सय ८५, भरतपुरमा ६ सय, भैरहवामा ११ सय ७०, पोखरामा ८ सय ९०, नेपालगंजमा २१ सय २५ रुपैयाँ थपिएको छ ।
त्यसैगरी पर्यटकीय रुट मानिने लुक्लामा १२ सय ४५ रुपैयाँ थपिएको छ भने पोखरादेखी जोमसोमको रुटमा ७ सय २५ रुपैयाँ थपिएको छ । हवाई टिकटमा भाडा, फियुल सर्भिस चार्ज र यात्रु सेवा शुल्क ९एयरपोर्ट ट्याक्स० हुन्छन् । यसपटकको वृद्धिमा फियुल सर्भिस चार्जको भाडादर पनि एयरलाइन्सहरुले चलाएका छन् । यी क्षेत्रको यात्रु सेवा शुल्क २ सय रुपैंया भने यथावत छ ।
नेपालगंजबाट पहाडी रुटहरु सिमिकोट, जुम्ला, मुगुको रारा, बाजुरा, डोल्पामा हुने दुर्गम हवाई भाडा भने पुरानै छ । त्यसैगरी काठमाडौं र विराटनगरबाट पूर्वी पहाडी रुटमा हुने हवाई सेवाको भाडा पनि पूरानै छ । तर, हाल उडानमा रहेका एयरलाइन्सहरुले बढीमा २० प्रतिशत हाराहारी मात्रै दुर्गममा उडान भर्छन् ।
दुर्गम क्षेत्रका दर्जन बढी रुटमा उडान भर्ने नेपाल वायु सेवा निगम हो । तर, उसले अधिकाशं रुटमा जहाज नभएको कारण देखाउदै नियमित उडान गर्दैन । निजी हवाई सेवा कम्पनी र नागरिक उड्डयन प्राधिकरण हरेक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने शर्त अनुसार, यसपटक भाडा बढाइएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए ।