काठमाडौँ, ४ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट–२०१५’ लाई कार्यान्वयन गर्न गएको बिहीबार नेपालका लागि व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गरेका छन् ।
यसबाट अमेरिकामा नेपालको निर्यात बढ्ने अपेक्षा गरिएको छ । उक्त सुबिधा ऐनले तोकेका प्रावधान बमोजिम हुनेगरी डिसेम्बर २०२५ सम्म कायम रहनेछ । अमेरिकी कांग्रेस र सिनेटले पास गरेपश्चात राष्ट्रपति ओबामाले २४ फेब्रुअरी २०१५ मा उक्त ऐनमा हस्ताक्षर गरेका हुन् ।
सो ऐनलाई कार्यान्वयनमा ल्याउने प्रकृयाका क्रममा ऐनमा भएको प्रावधान अनुसार अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले उपर्युक्त ६६ वटा वस्तु अमेरिकी बजारमा आयात सम्वेदनशील भए नभएको यकिन गर्न नेपाली सरकारी अधिकारी र निजी क्षेत्रका व्यवसायीलाई समावेस गरी गत जुन २०१६ मा वासिङ्गटन डिसीमा सार्वजनिक सुनवाई गरेको थियो ।
उक्त सुनुवाई, सरकारको निरन्तर पहल र ७ डिसेम्बर २०१६ मा जेनेभास्थित विश्व व्यापार सङ्गठनले पारित गरेको छुटपछि अमेरिकी राष्ट्रपति ओबामाले व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गरेका हुन् । रासस