मुस्ताङ, ३ पुस । हिमालपारीको जिल्ला उपल्लो मुस्ताङको घमी गाविसको ढाकवर भन्ने ठाउँमा आज बिहान आएको बाढीले आठ ओटा पुलमा क्षति पुर्‍याएको छ ।

upallo-mustagबिहानै आएको ठूलो बाढीका कारण पुलमा क्षति पुगेपछि यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । बाढीले मानवीय क्षति भने नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताए ।

ढाकवर क्षेत्रमा हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलमा अहिले उपल्लो मुस्ताङको लोमान्थाङ प्रहरीचौकीबाट प्रहरी परिचालन गरिएको पोखरेलले जानकारी दिए ।

बाढीले पुल र सडकमा क्षति पुर्‍याएपछि दुइतर्फी यातायात सेवा रोकिएको छ । क्षतिको थप विवरण भने प्रहरी घटनास्थल पुगेपछि मात्रै बेलुकासम्म आउन सक्ने प्रजिअ पोखरेलले बताए । उपल्लो मुस्ताङमा अत्याधिक चिसोले गर्दा अधिकांश मानिसहरु जाडो छल्न् बेंसी झरिसकेका छन् ।