काठमाडौं – भूकम्पले भत्काएका अस्पताललगायतका स्वास्थ्य संस्थाको स्थायी पुनर्निर्माणको काम अझै शुरु भएको छैन् । काम शूरु नहुनुको मुख्य कारण आर्थिक अभाव भएर हैन ।

gagan-arjun-1024x445

सरकारले यसबर्षका लागि मात्रै स्वास्थ्य संस्था पुनर्निमार्णका लागि भनेर झन्डै साढे ३ अर्ब बजेट छुट्टाएको छ । यति ठूलो परिमाणको बजेट हुँदासमेत काम शुरु हुने अवस्था नहुदा त्यसै थन्किएर बसेको छ । स्वास्थ्य संस्थाको पुनर्निमाणको काम अझै शुरु नहुनुको कारण भने रोचक रहेको छ ।

स्वास्थ्य मन्त्रालय आफैले भूकम्पले भत्काएका अस्पतालहरुको पुनर्निमार्ण गर्न चाहेको थियो । तर स्वास्थ्यसम्बन्धि भवन निर्माणका लागि इन्जिनियर शहरी विकास मन्त्रालयबाट लिनुपर्ने भयो ।

ठूला र स्थायी प्रकृतिका भौतिक संरचना बनाउन मन्त्रीपरिषद् कार्यविभाजन नियमावली अनुसार शहरी विकास मन्त्रालयमार्फत निमार्ण वा पुनर्निमार्ण गर्ने व्यवस्था छ ।

सोही आधारलाई लिएर शहरी विकास मन्त्रालयले स्वास्थ्य मन्त्रालयले आफै पुनर्निमाण गर्ने भए इन्जिनियर परिचालन नगर्ने बतायो । आफ्नै मातहतमा स्वास्थ्य संस्था पुनर्निमार्ण गर्ने छुट्टै यूनिट खडा गर्ने र काम गर्ने योजना बनाएर प्रक्रिया खोज्दा खोज्दै स्वास्थ्य मन्त्रालयले शहरी विकास मन्त्रालयलाई अस्पताल पुननिमार्णका समन्वय गर्न चिठी समेत लेखेन ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था पुनर्निमाणका लागि शहरी विकास मन्त्रालयलाई पत्र लेखेको भए यतिबेला पुनर्निमाणको काम अघि बढिसक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक अधिकारीले रातोपाटीलाई बताए ।

अझ रोचक कुरा त स्वास्थ्य संस्थाको पुनर्निमाण कसरी गर्ने भन्ने कार्यविधि पनि अझै बनेको छैन् । आफ्नो एकलौटी ढंगले पुनर्निर्माणको काम अघि बढाउन नसक्ने देखेपछि स्वास्थ्य मन्त्रालयले शहरी विकास मन्त्रालयसँग छलफल गरेर नयाँ कार्यबिधि बनाएर काम शुरु गर्ने सहमति गरेको छ ।

स्वास्थ्य संस्थाको पुनर्निमार्णको कार्यबिधीको ड्राफ्ट बनाएर पुनर्निर्माण प्राधिकरणमा पठाइएको स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक तथा स्वास्थ्य संस्था पुनर्निर्माण युनिटका प्रमुख रमेश अधिकारीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य भवन पुनर्निर्माण कार्यविधि २०७३ को मस्यौदा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणमा पठाएको छ ।

प्राधिकरणलाई दुबै मन्त्रालयले पुनर्निमार्णमा संयुक्त सहभागिता र स्वामित्व हुनेगरी कार्यबिधी बनाउन आसय ब्यक्त गरेको प्राधिकरणको भनाई छ ।

स्वास्थ्य मन्त्रालय आफै केन्द्रीय आयोजना कार्यान्वयन इकाई गठन गर्ने प्रक्रियामा अल्झिँदा ढिला भएको अधिकारीले स्वीकार गरे ।

स्वास्थ्य मन्त्रालयको ढिलाईका कारण नै अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको पुननिर्माणको काम शूरु हुन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक पदाधिकारीले बताए ।

अब भने स्वास्थ्य मन्त्रालयले योजना बनाउने, नीतिगत पक्ष हेर्ने, अनुगमन तथा गुणस्तर हेर्ने र स्वामित्वग्रहण गर्ने र शहरी विकास मन्त्रालयले योजना कार्यान्वयन गर्ने र शहरी विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय कार्ययोजना कार्यान्वयन इकाई मार्फत काम गर्ने सहमती बनेको छ । कार्यविधि स्वीकृत भएपछि मात्रै काम शुरु हुने भएको छ ।

कहिले हुन्छ ठूला अस्पतालको पुनर्निर्माण ?
भूकम्पले क्षति पु¥याएका ठूला अस्पतालको काम शूरु नहुदा अझै पनि अस्थायी संरचनाबाट नै स्वास्थ्य सेवा दिने गरिएको छ । काठमाडौंका वीर अस्पताल, प्रशुतिगृह अस्पताल, गोरखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक लगायतका जिल्ला अस्पताल पनि अस्थायी संरचनाबाट संचालनमा छन् ।

hospital-destroyedस्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ४५ अन्र्तराष्ट्रिय संस्थाले १ सय ५० को हाराहारीमा भूकम्पले क्षति पु¥याएका अस्पतालमा अस्थायी संरचना प्रिफ्याबबाट निमार्ण गरेको छ । अस्पतालहरु टेन्टबाट चल्ने अवस्था नरहेपनि अहिले अस्थायी संरचनाबाट चलिरहेको मन्त्रालयका जनस्वास्थ्य प्रशासक अधिकारीले बताए ।

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ३ सय हाराहारीमा स्वास्थ्य संस्थामा पूर्ण रुपमा क्षति पुगेको थियो भने त्यति नै हाराहारीमा आंशिक क्षति भएको थियो ।

यस्तै भूकम्प प्रभावित १७ जिल्लामा अझै पनि सर्वेक्षणको काम शुरु नहुँदा कति स्वास्थ्य संस्थामा क्षति पुग्यो भन्ने यकिन आँकडा भएको छैन ।

रातोपाटीबाट सभार