रोल्पा, ३ पुस। रोल्पा जिल्ला गहुँको बीउमा आत्मनिर्भर बन्दै गएको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका नायब प्राविधिक सहायक अनिलकुमार शर्माले जानकारी दिए ।

wheatउनका अनुसार, आर्थिक वर्ष २०७२/७३ मा गहुँको बीउका लागि छिमेकी जिल्ला, कृषि अनुसन्धान र राष्ट्रिय बीउबिजन कम्पनी शाखा कार्यालय नेपालगञ्जबाट १ सय ६० क्विण्टल गहुँको बीउ आयात गरेर कृषक समूह तथा सहकारीमा वितरण गरेको थियो भने यस वर्ष ३३ दशमलव ७५ प्रतिशत बीउ गत वर्षको तुलनामा कम आयात गरिएको छ ।

जिल्लामा यस वर्ष ८८ हेक्टर जमिनका लागि डब्लु के बाह्र सय चार– एकसय क्विण्टल, डाँफे दुई क्विण्टल र गौतम चार क्विण्टल गरी जम्मा एकसय ६ क्विण्टल गहुँको बीउ प्रयोग भएको छ । यसबाट २ हजार १ सय ७२ क्विण्टल बीउ उत्पादन हुने लक्ष्य लिइएको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसनर, केहीवर्ष पहिलेसम्म परम्परागत तरिकाले स्थानीय बीउ नै प्रयोग हुँदै आएकामा पछिल्ला दिनमा उन्नत बीउ उन्नत तरिकाले सुरुवात भएपछि गहुँको बीउमा जिल्ला आत्मनिर्भर बन्दै गएको हो ।

श्रेष्ठका अनुसार, जिल्लाका सबै गाविसमा गहुँ उत्पादन हुँदै आएको भए तापनि बीउ उत्पादनका लागि जङ्कोट, कोटगाउँ, खुङ्ग्री, बडाचौर, लिबाङ, नुवागाउँलगायतका गाविसमा बीउ उत्पादनको राम्रो सम्भावना रहेको छ । यसरी गहुँ खेतीका लागि भनेर कार्यालयले कृषकलाई जिल्लामा पाँचओटा मिनी टिलर वितरण गरेकोे छ । मिनी टिलर महिलाले पनि चलाउन सकिने, समयको बचत हुने, खेती गर्दा लगानी कम लाग्ने भएको हुँदा किसान उत्साहित भएका छन् ।

अधिकांश परिवारका पुरुष वैदेशिक रोजगारीका लागि जिल्ला बाहिर रहेको हुँदा महिलाले पनि यसको प्रयोग गर्न सहज हुने भन्दै उनीहरुले खुसी व्यक्त गरेका हुन् । पछिल्ला दिनमा यसतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । रासस