काठमाडौं, २८ मंसिर । व्यवस्थापिका-संसदमा दर्ता भएदेखि विवादमा चुलिएको संविधान संसोधन विधेयक परिमार्जन हुने देखिएको छ । सरकार संशोधन विधेयक परिमार्जन र स्थानीय निर्वाचनसम्बन्धी विषयमा प्रमुख प्रतिपक्ष र मधेसी मोर्चासहितको संघीय गठबन्धनलाई सहमतिमा ल्याउने प्रयत्न गरिरहेको छ ।

graphic_zuwadqtnb8प्रमुख प्रतिपक्ष एमाले र गठबन्धनलाई विश्वासमा लिन नसके संविधान कार्यान्वयनको गाँठो फुकाउन नसकिने सत्तारुढ दलका नेताहरूको ठम्याइ छ । यसका लागि शीर्ष नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओली मात्र होइन, गठबन्धनमा आवद्ध नेतालाई विश्वासमा लिन प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल अगाडि बढाइसकेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री दाहालले संशोधन विधेयक फिर्ता नलिई परिमार्जन गरेर अगाडि बढाउने अभिव्यक्ति दिएयता गठबन्धनको अगुवाइ गर्ने संघीय समाजवादी फोरमका नेताहरूसँग छलफल भइरहेको स्रोतको भनाइ छ ।

ती नेताका अनुसार संघीय समाजवादीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेतासँग प्रधानमन्त्रीले वार्ता गरेका छन् । उनीहरूबीच विधेयक परिमार्जन गर्ने सम्भावित विषयमा छलफल भएको हो ।

एमालेलाई सहमतिमा ल्याउन स्थानीय निर्वाचनको सुनिश्चितता र त्यसका लागि मिति तोक्नुपर्ने देखिएको छ । संघीय गठबन्धनलाई नमनाई निर्वाचन सुनिश्चित नहुने भएकाले सरकारले दुवै विषयलाई अगाडि बढाउने स्रोतले जनाएको छ ।

सरकारले पूर्वका तीन र पश्चिमका दुई जिल्लालाई विवादित जिल्लाका रूपमा उल्लेख गरी आयोगका माध्यमबाट हल गर्ने विषयमा विश्वासमा लिन खोजेको छ ।