तुलसीपुर २८ मंसिर । गाडिको महिला आरक्षण सिटमा सवार गर्ने आठ जना ब्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका आठ जना पुरुष यात्रुलाई संझाई बुझाई गरेर सोमवार बेलुका नै छोडिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । पटक/पटक पुरुष यात्रुहरुलाई महिला आरक्षण सिटमा सवार नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरुलाई पक्राउ गर्नु परेको प्रहरीले बताएको छ । महिला सिटमा बसेकै कारण पुरुषहरु पक्राउ परेको यो दाङका लागि नौंलो घटना हो ।
सवारी चेकिङमा खटिएको ट्राफिक प्रहरीले तुलसीपुर बाट घोराही जाँदै गरेका विभिन्न सार्बजनिक गाडिको महिला सिटमा यात्रा गरिरहेका आठ जना पुरुष यात्रुलाई पक्राउ पछि सम्झाएर छोडेको थियो । गाडिका चालक,सह–चालक र अन्य यात्रुहरुले सम्झाउँदा समेत अटेर गरि जवरजस्ती महिला सिटमा बस्नेहरुलाई पक्राउ गरेपछि सम्झाएर छोडिएको एसपी सिंहले बताए ।
आरक्षण सिट प्रयोग गर्न नपाएको भन्दै महिला तथा लक्षित बर्गबाट गुनासो आएपछि प्रहरीले सार्वजनिक सवारीमा निगरानी थालेको एसपी सिंहले जानकारी दिए । उनका अनुसार आरक्षण सिटमा अन्य ब्यक्तिले रजाई गरेको भन्ने व्यापक गुनासो आएपछि जवरजस्ती गर्नेहरुलाई पक्राउ गर्ने अभियान थालिएको हो । उनले अटेरी गर्नेहरुलाई कानुन बमोजिम कारवाही गर्ने बताए ।
ट्राफिक प्रहरीले यो कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ । गाडिमा अपाङ्ग, महिला , बृद्धबृद्धाहरुका लागि आरक्षण सिटको ब्यबस्था गरिएको हुन्छ । प्रहरीले आरक्षित सिटमा जवरजस्ती नगर्न सबैमा आग्रह पनि गरेको छ ।
