काठमाडौंं, २७ मंसिर । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई विकासको बाटोमा उन्मुख गर्न कुनै पनि हालतमा चुनाव हुने बताएका छन् ।
नेपाल विद्यार्थी सङ्घले आज आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रममा सभापति देउवाले निर्वाचन नभएर देश पछाडि परेको बताए ।
उनले क्यालेन्डर बनाएर २०७४ साल माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराइने बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफूले निर्वाचन गर्ने विषयमा आइतबार मात्रै छलफल गरेको भन्दै एमाले निर्वाचनको पक्षमा रहेको बताए ।
देउवाले संविधान संशोधनप्रति असन्तुष्टि भन्दै एमालेले मधेस र पहाडबीच झगडा गराएर देशमा विभाजन ल्याउन खोजेको आरोप लगाए ।
कार्यक्रममा देउवाले नेविसङ्घ बलियो भएमा मात्र मुलुक बलियो हुने भन्दै आगामी स्ववियुको निर्वाचनमा नेविसङ्घलाई जिताउन सबै विद्यार्थी एक भएर लाग्न निर्देशन दिए ।