इन्द्रेणी संवाददाता
दाङ, ९ जेठ
दाङको त्रिपुर नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय निर्माण सुरु गरिएको छ ।

newssशान्ति तथा पुनः निर्माण मन्त्रालयको १० लाख सहयोगमा भवनको निर्माण सुरु गरिएको हो । त्रिपुर १० मर्पा डाडामा निर्माण हुने भवनको आईतवार सांसद राजु खनालले शिलन्यास गर्नुभएको हो ।

भवनको शिलन्यास गर्दै सांसद खनालले त्रिपुर नगरपालिकामा विकासको एक खुड्कीलो वडा कार्यालयको भवन निर्माण भएको बताउनुभयो । उहाँले विकास निर्माणकालागी स्थानीयबासीहरु नै सचेत भएर लाग्नुपर्ने भन्दै विकास निर्माणमा राजनिति नगर्न राजनितिक दलहरुलाई अनुरोध गर्नुभयो ।

वडा नागरिक मञ्चका संयोजक निमबहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ओविन्द्रबहादुर खड्काले गर्नुभएको थियो । यसैबीच सांसद राजु खनालले त्रिपुर नगरपालिका ११ मा रहेको विभिन्न स्थानमा भईरहेको विकास निर्माणको अनुगमन गर्नुभएको छ ।

क्षेत्र विकास कोष अन्तरगत निर्माण भईरहेका विकास निर्माणको उहाँले अनुगमन गर्नुभएको हो । साथै उहाँले त्रिपुर नगरपालिका १ मा रहेको मावि लमडरुवाको खेल मैदान निर्माणको पनि अनुगमन गर्नुभएको छ । अनुगमन पश्चात विद्यालयमा एक कार्यक्रम पनि सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिराम विष्टको अध्यक्षता एवं सांसद राजु खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै खनालले विद्यालयको विकासकालागी आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा काठमाडौ निवासी हरिशंकर पुरीले विद्यालयलाई नगद १ लाख सहयोग गर्नुभएको थियो । विद्यालयको विकासकालागी आफूले नगद सहयोग गरेको उहाँले बताउनुभयो ।।