काठमाडौं, २५ मंसिर । विभिन्न आन्दोलन तथा दलीय भागबन्डाको दबाबका कारण त्रिभुवन विश्वविद्यालय निर्णयविहीन हुँदै गएको छ । पछिल्लो समय डा. गोविन्द केसीको आमरण अनशन तथा प्राध्यापकहरूका संघ–संगठनले भागबन्डाका लागि दबाब दिइरहेका कारण त्रिविले महवपूर्ण निर्णय गर्न सकेको छैन् । त्रिविले विभिन्न संकाय तथा अध्ययन संस्थानमा पूर्णकालीन डिन नियुक्त गर्न सकेको छैन ।
केन्द्रीय विभाग तथा केही आंगिक क्याम्पसमा समेत उस्तै अवस्था छ । राजनीतिक दलनिकट वैचारिक संगठनहरूले भागबन्डामा नियुक्ति पाएका त्रिवि पदाधिकारीलाई आफ्ना संगठनको प्रभुत्व बढाउन दबाब दिइरहेको कर्मचारीको गुनासो छ । डा. केसी अनशन बस्ने डरले त्रिविले मेडिकल शिक्षासम्बन्धी कुनै पनि निर्णय गर्न नसकेको त्रिविका अधिकारीहरू बताउँछन् ।
आधा दर्जन डिन तीनमहिने र निमित्त
अहिले झन्डै आधा दर्जन डिन कार्यालय तीनमहिने र निमित्त डिनहरूले चलाएका छन् । त्रिविको वन विज्ञान अध्ययन संस्थानमा प्रा।डा। कृष्णराज तिवारीले गत २ असोजदेखि तीन महिनाका लागि नियुक्ति पाएका छन् । हाल मानविकी तथा सामाजिक शास्त्र संकायमा तीनमहिने डिनले काम गरिरहेका छन् ।
अघिल्लो चारवर्षे कार्यकाल सकेका प्रा.डा. चिन्तामणि पोखरेललाई तीन महिनाका लागि भन्दै गत २ असोजमा नियुक्ति दिइएको थियो । व्यवस्थापन संकायमा नवराज अधिकारी, शिक्षाशास्त्र संकायमा नेत्रप्रसाद धिताललाई आर्थिक अधिकारसहित निमित्त डिनको जिम्मेवारी दिइएको छ । त्यसैगरी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा।डा। रामप्रसाद खतिवडाले तीनमहिने कार्यकाल सकेर निमित्त डिनको रूपमा काम गरिरहेका छन् ।
