दिपक बोहरा , घोराही १९ मंसिर । कार्यसम्पादन मुल्याङ्कनमा देशभरकै तेस्रो स्थानमा पर्न सफल दाङको घोराही नगरपालिका पुरस्कृत भएको छ । संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले घोराही नगरपालिकालाई पुरस्कार स्वरुप दुई लाख रुपैया प्रदान गरेको छ ।
नगरपालिकाका सुचना अधिकारी प्रेम केसीले राप्ती समाचारलाई त्यस्तो जानकारी दिएका हुन । मन्त्रालयले आर्थिक बर्ष २०७३/०७४ को लागि उपलब्ध गराईएको चालु अनुदानबाट पुरस्कार बाफतको उक्त रकम उपयोग गर्न अनुरोध पनि गरेको उनले जानकारी दिए ।
मन्त्रालयले न्युनतम शर्त तथा कार्यसम्पादन मापनमा सहभागी भई थप अनुदान प्राप्त गर्ने जिबिस तथा नगरपालिकालाई पुरस्कार बितरण सम्बन्धि कार्यबिधि २०७२ बमोजिम घोराही नगरपालिका पुरस्कृत भएको हो ।
साथै मन्त्रालयले उत्कृष्ट तेस्रो स्थानसम्म पर्न सफल भएका नगरपालिकालाई एक करोड बराबरको थप योजना दिने कार्यबिधि अनुसार तेस्रो स्थानमा पर्न सफल घोराही नगरपालिकालाई मन्त्रालयले एक करोड बराबरको थप योजना प्रदान गर्न लागेको पनि सूचना अधिकारी केसीले बताए ।
त्यसका लागि घोराही नगरपालिकाले दिर्घकालिन महत्व राख्ने योजना मागगर्ने तयारी गरेको सुचना अधिकारी केसीले बताए । केसीका अनुसार योजना माग गर्ने बिषयमा घोराही क्षेत्रका सरोकारवाला निकाय, राजनीतिकदलहरु संग छलफल भइरहेको छ । ‘अहिले घोराही क्षेत्रमा बढि महत्व रहेको रहेको बिषयमा छलफल भइरहेको छ ’ उनले भने‘ अहिले हामीलाई अस्पताल जन्य फोहर ब्यबस्थापन, आँकासे पुल निर्माण अति आवश्यक रहेकोले अव त्यसविषयमा जान बारेमा छलफल भइरहेको केसीले जानकारी दिए ।
यि मध्य एउटा बिकास माग गर्ने लक्ष्यका साथ छलफल चल्दै आएको भएपनि अझैं टुङ्गो भने लागि नसकेको सूचना अधिकारी केसीले बताए । घोराही नगरपालिका न्युनतम शर्त तथा कार्यसम्पादन मापनको आधारमा तेस्रो स्थानमा पर्न सफल भएको हो । ८६ अङ्क ल्याएर तेस्रो बन्न सफल भएपछि नेपाल सरकारबाट पाउने अनुदानमा २० प्रतिशत थप अनुदान अर्थात ३० लाख बढी रकम पनि प्राप्त गर्ने सूचना अधिकारी केसीले बताए ।
तर कुनै समय देशभरकै तेस्रो नगरपालिका बन्न सफल हुँदै स्थानीय बिकास मन्त्रालयको थप सेवा तथा पुरस्कार प्राप्त गर्न सफल भएको तुलसीपुर नगरपालिका भने कार्यसम्पादनमा निकै खस्किएको छ । गत बर्षका आधारमा गरिने कार्यसम्पादन मुल्याङ्कनमा यस बर्ष तुलसीपुर नगरपालिका ३७औं स्थानमा परेको थियो ।
कार्यसम्पादनमा तल झरेपछि तुलसीपुर नगरपालिकाबाट सरकारबाट पाउने अनुदानबापतको रकम यस वर्ष १० प्रतिशतले कटौती हुने मन्त्रालयको कार्यबिधिमा उल्लेख छ । घोराही नगरपालिकामा अहिले स्थानीय बिकास मन्त्रालयले नगर क्षेत्र पुर्बाधार बिकास कार्यक्रमका लागि एक करोड ५१ लख र युनिक खालको कालो पत्रेका लागि ९२ लाख रुपैयाँ बिनियोजन गरेको सुचना अधिकारी केसीले जानकार दिए । राप्ती समाचार
