दाङ, १८ मंसिर । संविधान संसोधनमार्फत प्रदेश नं. ५ लाई टुक्राउन खोजिएको विरोधमा नेकपा एमाले दाङले जनप्रदर्शन गर्ने भएको छ । नेकपा एमाले दाङ जिल्ला कमिटीको शनिबार घोराहीमा बसेको दोस्रो पूर्ण बैठकले यहि मंसिर २० गतेका दिन घोराहीमा बृहद जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षता एवं केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रदेश टुक्राउने सरकारको निर्णयका विरुद्ध बृहद जनप्रदर्शन गर्ने लगायतका निर्णय गरेको थियो ।

बैठकले मंसिर २० गतेको विरोध कार्यक्रममा सहभागिताका लागि आम नागरिकलाई आह्वान गर्ने निर्णय गरेको छ । सरकारले प्रदेश नंं ५ का जनताको भावना विपरित प्रदेश टुक्राउने निर्णय गरेको भन्दै निर्णयलाई अविलम्व फिर्ता लिन पनि माग गरेको छ ।

बैठकले नेकपा एमाले केन्द्रीय कमिटीले अघि सारेको चार महिने संगठन सुढृढीकरण अभियानका बारेमा पनि निर्णय गरेको छ । जस अनुसार मंसिरको २५ गते देखि क्षेत्रिय कमिटीका बैठकहरु बसाल्ने, जनसंगठनको बैठक बस्ने, गाउँ तथा नगरका बैठकहरु बसाल्ने निर्णय गरेको छ । यस्तै पुसको ९ र १० गतेका दिन जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरको छ ।

बैठकले क्षेत्र नं. १ मा पुसको १५ र १६ गते, क्षेत्र नं. २ मा पुसको १७ र १८ गते, क्षेत्र नं. ३ को पुसको १९ र २० गते, क्षेत्र नं. ४ को पुसको २१ र २२ गते र मंसिरको २३ र २४ गते क्षेत्र नंं ५ मा प्रशिक्षण राख्ने निर्णय गरेको छ ।