काठमाडौं, १७ मंसिर । फिल्मी शैलीमा गर्लफ्रेन्ड पट्याउदै ठगी गर्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् । प्युठानका ईश्वरीप्रसाद पोखरेललाई महानगरीय अपराध महाशाखाले हिजो काठमाडौंबाट पक्राउ गरेको हो ।

ishor-453x330विगतमा ठगी मुद्दामा समेत दोषी ठहर भई फरार रहेका पोखरेलले पछिल्लो समय ३० जनाभन्दा धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । ठगिनेमध्ये धेरै उनका गर्लफ्रेन्डनिकट व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसरी नै उनले एक दशकदेखि ठग्दै आएका थिए । भारतको लखनउमा बस्ने पोखरेलले गर्लफ्रेन्ड र आफ्ना विश्वासपात्र व्यक्तिमार्फत पैसा उठाउने गरेका थिए । गर्लफ्रेन्ड र आफन्तलाई समेत झुक्याएर उनले विदेश जान खोज्ने तथा सरकारी जागिर खाने व्यक्तिलाई खोज्न लगाउने गरेको प्रहरीले जनाएको छ । पोखरेलले कतिपय अवस्थामा उनीहरुमार्फत नै पैसा लिने र कतिपय अवस्थामा आफ्नो बैंक खातामा पैसा हाल्न लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । एटिएममार्फत भारतमै बसेर उनले पैसा निकाल्ने गरेका थिए ।

परिचय लुकाउन हिमालयन बैंकमा नक्कली नागरिकताका आधारमा मनोज रिजालको नाममा पोखरेलले खाता खोलेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । अभियुक्त पोखरेल ठगका माष्टरसमाइन्ड भएको खनालको भनाइ छ । नक्कली कागजपत्र बनाउनेदेखि आफुलाई चर्चित नेताको रुपमा प्रस्तुत गरेर उनले ठगी गर्दै आएका थिए । विगत ६ महिनादेखि नै प्रहरीले पोखरेललाई पिछा गरेको थियो । पहिलेदेखि नै उनी लखनउमा रहेको प्रहरीले थाहा पाएको थियो ।

तर भारतीय प्रहरीले असहयोग गर्दा उनी पक्राउ परेका थिएन । उनी अमेरिका भाग्ने तयारीमा थिए । काठमाडौंस्थित अमेरिकन दुतावासमा बुधबार उनको अन्र्तवार्ता थियो । सोही अन्र्तवार्ताका लागि नेपाल आएको बेला पक्राउ परेका हुन् । महाशाखाका इन्सपेक्टर गोविन्द पन्थी नेतृत्वको टोलीले उनलाई कमलपोखरीको क्राउन प्लजा होटलबाट पक्राउ गरेको हो ।