काठमाडौ, १७ मंसिर। सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगमा आरोपी धनुषा क्षेत्रनम्बर ४ का निलम्बित सांसद सञ्जयकुमार साहलाई धनुषा जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार पठाउने आदेश सुनाएको छ ।

sanjay-sah-1-624x426गत तीन दिनदेखि जारी दुईपक्षीय बहसपछि, ६ नम्बर इजलासका न्यायधीश दीपककुमार दाहालको इजलासले मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय २ बमोजिम ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भनि भन्न नसकिने हुँदा पछि ठहरे बमोजिम हुने गरी’ हाललाई मुद्दा पुर्पक्षको निमित्त कारागार पठाउने आदेश सुनाएका हुन् ।

मृतका छोरा राहुल सिंघानियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त कर्तव्य ज्यान मुद्दामा जाहेरवालाको तर्फबाट अधिवक्ता विपिनकुमार झा, हेमबहादुर कार्की तथा सरकारी वकिल अजित कर्णले बहस गरेका थिए ।

२०६६ फाल्गुन १७ गते फागु पूर्णिमाको दिन उद्योगी नवल मुरारकाको घरमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भई फिर्ता जाँदै गरेको बेला शिवचोकमा सिंघानियाको टाउकोमा गोली प्रहार गरि हत्या गरिएको थियो ।