काठमाण्डौ, ८ जेठ
वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६० औँ बुद्ध जयन्ती बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान, भिक्षुहरुको सहभागिता रहने छ ।budda

नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किनुभएको थियो ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा विश्व प्रसिद्धि हुनुभभएको थियो ।३६ वर्षको उमेरमा सारनाथमा बुद्धले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन गरेको बौद्ध दर्शनको खोज अनुसन्धानमा लागेका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो ।

यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दू दर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँदछन् ।।