गोरखा, १६ मंसिर । मुआब्जा सम्बन्धी विवाद बढ्दै गएपछि स्थानीयवासीले बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका छन् ।

gorkha_news-58400a32b5aae0-77074435घ्याल्चोक र आसपासका गाविसबाट सयौँको संख्यामा जम्मा भएका स्थानीयवासीले घ्याल्चोक ९ सिउरेनीटारमा रहेको आयोजनाको कार्यालय आज तोडफोड गरेका हुन् ।

प्रहरी र कार्यालय तोडफोडमा संलग्न प्रदर्शनकारीबीचको झडपमा एक प्रहरी घाइते भएका छन् । कार्यालय तोडफोडमा संलग्न नौ जना सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वसाधारणले सुरुमा कार्यालयमा तालाबन्दी गरेका थिए । ताला खोल्ने विषयमा विवाद चर्कदै गएपछि आक्रोशित स्थानीयवासी कार्यालयको झ्याल र ढोका तोडफोड गर्दै भित्र छिरेका हुन् । कार्यालय तोडफोडपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । डिएसपी वीरेन्द्र थापाको नेतृत्वको प्रहरी टोलीले अहिले कार्यालयको सुरक्षा दिएको छ ।