जनकपुर, १६ मंसिर । जिल्ला मालपोत कार्यालय धनुषामा एक नक्कली कर्मचारीले २५ वर्षदेखि काम गर्दै आएको खुलेको छ । तामेली फाँटमा आफू सरकारी कर्मचारी रहेको भन्दै कृष्ण श्रेष्ठले गएको २५ वर्षदेखि काम गर्दै आएको पाइएको हो ।
श्रेष्ठले हरेक सेवाग्राहीसँग घुस लिने गरेका छन् । तर ति व्यक्ति कर्मचारी हो वा होइन भन्ने विषयमा कार्यालय प्रमुखकासाथै अरु कर्मचारी समेत अनभिज्ञ छन् । नक्कली कर्मचारी श्रेष्ठले काम गरेबापत हरेक सेवाग्राहीसँग एक सयदेखि हजार रुपैयाँ भन्दा धेरै घुस लिने गरेको सेवाग्राहीले बताएका छन् ।
सेवाग्राही रामएकवाल महतोसँग दुई सय रुपैयाँ लिएपछि ‘पैसा लिएको बिल खै रु’ भन्दा ति व्यक्तिले ‘मैले यसैबाट तलब खाने गरेको छु’ भन्ने जवाफ दिए । कुनै पदमा नभएका आफू २५ वर्ष भन्दा बढी समयदेखि कार्यरत रहेको श्रेष्ठले दाबी गरे ।
केही दिनदेखि तामेली फाँटमा कर्मचारी अभावका कारण आफूले यो फाँटका नायब सुब्बा रामदेव यादवलाई सघाइरहेको श्रेष्ठको दाबी छ । श्रेष्ठले यस कार्यालयको कुनै पदमा नरहेको तर आफूसँग लेखापढी कानुन व्यवसायीको प्रमाणपत्र रहेको बताए ।
