कञ्चनपुर, १६ मङ्सिर । भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय ४१ जना बेपत्ता भएका छन् ।
निड्स नेपाल, कञ्चनपुर नामक गैरसरकारी संस्थाले भारतमुखी अप्रवासनबारे गरेको अध्ययनमा मजदुरीमा गएका व्यक्ति बेपत्ता भएको पाएको हो ।
“भारतमा मजदुरी गर्न गएकाका परिवारसँगको प्रत्यक्ष भेटघाटका क्रममा अछामका २२, डोटीका ९९ र कञ्चनपुरका २० जना गरी एकसय ४१ जना बेपत्ता भएको पाइएको छ”, निड्सका कार्यक्रम व्यवस्थापक प्रकाश मडैले भने । उनका अनुसार बेपत्ता भएका व्यक्ति पाँचदेखि बीस वर्षको अबधिसम्म परिवारको सम्पर्कमा नरहेको पाइएको छ ।
संस्थाले गरेको अध्ययनअनुसार तीनवटै जिल्लाका ६३ प्रतिशत काम गर्ने उमेरका युवा भारतमा मजदुरीका लागि जाने गरेका छन् । भारतमा मजदुरी गर्न जानेमध्ये ६० प्रतिशतसँग कमाएको पैसा सुरक्षित राख्नका लागि बैंक खाता नहुँदा उनीहरुको विप्रेषणसमेत जोखिममा रहेको पाइएको व्यवस्थापक मडैले बताए ।
संस्थाले विप्रेषण सुरक्षित राख्नका लागि भारतमा जानेको समूह बनाई बैंकमा खाता खोल्न र बैंकमार्फत पैसा पठाउनका लागि सचेतना दिने कार्य गरिएको उनको भनाइ छ ।
