काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैतको अन्तिममा वा वैशाखको शुरुमा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव राखेका छन् ।
सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आज बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।
बैठकमा प्रचण्डले पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्ने कि पुनर्संरचना अनुसार स्थानीय तहको चुनाव गर्ने भन्ने बारेमा दलहरुको धारणा मागेका थिए । अब चुनावमा जानुपर्ने भन्दै पहिला कुन चुनाव गर्ने हो स्पष्ट हुन दलहरुलाई उनले आग्रह गरेको बैठकमा सहभागी माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
तर बैठकमा एमालेले भने संविधान संशोधन प्रस्ताव दर्ता गरेर चुनावको कुरा गर्दै प्रधानमन्त्री उल्टो गतिमा हिँडेको आरोप लगाएको छ । बैठकमा आफूहरुले चुनावको घोषणा गरेर मात्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको भए सजिलो हुने थियो भनेर भनेको एमाले नेता भीम रावलले बताए ।
