एजेन्सी, १५ मंसिर । भारतको जम्मु काश्मीर स्थित नगरोटमा सेना र विद्रोहीका विचमा भिडन्त भएको छ । भिडन्तमा कम्तीमा ७ जना भारतीय सेनाको मृत्यु भएको छ । हिजो विद्रोहीहरुले सेनाको एक शिविरलाई लक्षित गरी आक्रमणको प्रयास गरेपछि भिडन्त सुरु भएको हो ।
भिडन्तमा भारतीय सेनाका २ अधिकृत र ५ जना सैनिकको मृत्यु भएको हो । भिडन्तमा अन्य ३ जना आक्रमणकारी पनि मारिएको बिबिसीले जनाएको छ ।
बिद्रोहीहरु सेनाको शिविरमा प्रवेश गरेर १२ सैनिक, दुई महिला तथा दई बालकलाई बन्धक बनाएका थिए । त्यसपछि भारतीय सेनाले जवाफी कारवाही गरेर बन्धक बनाएका सबैलाई सकुशल उद्धार गरेको थियो ।
भारतीय सेनाका प्रवक्ता कर्नेल मनीष मेहताका अनुसार बिद्रोही विरुद्धको कारवाही अभियान जारी रहेको र सम्पूर्ण क्षेत्र घेराबन्दी गरिएको छ । सीमा सुरक्षा तथा बिद्रोही विरुद्धको कारवाही अभियानको योजना बनाउने जम्मुबाट १५ किलोमिटर पर रहेको सेनाको १६ कोर मुख्यालयमा आक्रमण भएको हो । यस्तै साँबा सेक्टरको अन्तराष्ट्रिय सीमामा पनि बिद्रोही र भारतीय सीमा सुरक्षा बल बिएसएफ बिच गोली हानाहान भएको बताइएको छ ।











